काठमाडौं– कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारो परेका ४५ हजार ६ सय ६० नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका छन्। शुक्रबारसम्म मलेसिया, कतार, साउदी, युएई, कुवेत, अस्ट्रेलिया, जापान, फिलिपिन्स, टर्कीलगायत ३० वटा मुलुकमा अप्ठ्यारोमा परेका ४५ हजार ६ सय ६० नेपालीहरु स्वदेश फर्किएका हुन्।
हालसम्म स्वदेश फर्कनेहरूमा सम्बन्धित गन्तव्य मुलुक, रोजगारदाता, कम्पनी, केही संघसंस्थाले खर्च बेहोरिदिएका तथा आफैँ खर्च बेहोर्न सक्नेहरू रहेका छन्। आफैँ खर्च बेहोर्न नसक्ने तथा रोजगारदाताले समेत खर्च नबेहोरिदिएर अलपत्र अवस्थामा रहेका श्रमिकहरूको भने अझै उद्धार हुन सकेको छैन। तर, सरकारले यस्ता श्रमिकहरूको वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत उद्धार गर्न निर्देशिका जारी गरेको छ।
सम्बन्धित कुटनीतिक नियोगबाट यकिन विवरण आएपछि वैदेशिक रोजगार बोर्डले नियोगमा आवश्यक रकम पठाउने जनाएको छ। मलेसिया, ओमानलगायत केही गन्तव्य मुलुकस्थित नियोगहरूले आफैँ खर्च बेहोर्न नसक्ने श्रमिकहरूको तथ्यांक संकलन सुरु गरेका छन्।
विवरण बोर्डसम्म आएपछि उद्धार कार्य सुरु हुने जनाइएको छ।
विदेशमा अलपत्र २५८ शव ल्याइयो
शुक्रबारसम्म विदेशमा अलपत्र २ सय ५८ शव ल्याइएको छ। मलेसिया, कतार, साउदी, कुवेत, दक्षिण कोरिया, बहराइन, ओमानलगायत मुलुकमा लकडाउनका कारण महिनौदेखि अलपत्र परेका २ सय ५८ शव स्वदेश ल्याइएको हो।
परिवारको सहमतिमा १७२ शव विदेशमै अन्त्येष्टि गरिएको बोर्डले जनाएको छ। बोर्डकाअनुसार अझै ७० भन्दा बढी शव विदेशमै अलपत्र अवस्थामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।