काठमाडौं- पशुपति क्षेत्र विकास कोषले स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग सर सल्लाह नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन्।
संघर्ष समितिले शुक्रबार पशुपति क्षेत्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघीय सांसद गगनकुमार थापा, बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौं महानगरपालिका–८ का अध्यक्ष दिनेशकुमार डङ्गोललगायतले एक स्वरमा कोष सञ्चालक परिषद्ले २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनाको विरोध गरे।
सांसद थापाले जनप्रतिनिधिसँग सल्लाहसमेत नगरी ल्याइएको गुरुयोजना खारेजीको माग गर्न शुक्रबार नै आफूले कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई भेटेर स्थानीयवासीको समस्याका विषयमा अवगत गराएको कार्यक्रममा जानकारी दिए।
प्रदेशसभा सदस्य वैद्यले मन्त्री भट्टराईले परिषद् अध्यक्ष भएर गुरुयोजना पारित गर्ने र स्थानीयवासीलाई भने सहयोग गर्छु भनी दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाए। वडाध्यक्ष डङ्गोलले स्थानीयवासीको प्राचीनकालदेखिको बस्ती नाश गर्ने, स्थानीयवासीका चाड पर्व, धर्म संस्कृति पनि नष्ट हुने भएकाले गुरुयोजना खारेज हुनुपर्ने बताए।
सो अवसरमा समितिले कोषका कुनै पनि पदाधिकारीसँग अब वार्ता नगर्ने घोषणासमेत गरेको छ। परिषद्का अध्यक्षसमेत रहेका मन्त्री भट्टराईलाई माग राखी गुरुयोजना खारेजीका लागि अपिल गर्न लागिएको सङ्घर्ष समितिका संयोजक आशामान सँगतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।