काठमाडौं– कोरोनाका कारण विदेशमा समस्या परेका ३५ हजार ८ सय ४ जना नेपाली स्वदेश फर्किएका छन्। कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का अनुसार हवाई मार्ग हुँदै बुधबारसम्म विभिन्न २९ मुलुकबाट उनीहरु स्वदेश फर्किएका हुन्।
स्वदेश फर्किनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई)बाट रहेका छन्। युएईमा कोरोनाका कारण समस्या परेका ८ हजार ५० जना नेपाली स्वदेश फर्किएका छन्।
त्यस्तै साउदीबाट ५ हजार ६ सय ११, कुवेतबाट ५ हजार ५ सय ४९, मलेसियाबाट ५ हजार ३ सय ८४, कतारबाट ३ हजार ९ सय ४१ र बहराइन, कुवेत, अमेरिका, म्यानमार, जापान, दक्षिण कोरिया, श्रीलंका, टर्की, चीनलगायत २९ मुलुकबाट ३५ हजार ८ सय ४ जना नेपाली स्वदेश फर्किएका हुन्।
२ सय २२ शव ल्याइयो
विदेशमा मृत्यु भएका २ सय २२ शव नेपाल ल्याइएको छ। मलेसिया, साउदी, कतार, कुवेत, दक्षिण कोरियालगायत मुलुकमा अलपत्र परेका २ सय २२ नेपालीकाे शव स्वदेश ल्याइएको सिसिएमसीले जनाएको छ।
वैदेशिक रोजगार बोर्डका अनुसार विदेशमा अझै ९० वटा शव अलपत्र अवस्थामा छन्। नेपाली श्रमिकहरु स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडानमार्फत् नै ती शवहरु स्वदेश फर्काइने बोर्डले जनाएको छ।
चौथो उद्धार उडान आजदेखि
विदेशमा अलपत्र नेपालीहरुको उद्धारका लागि चौथो उद्धार उडान शुक्रबार (आज)देखि सुरु भएको छ। पैसा आफैँ व्यवस्थापन गर्न सक्ने अवस्थाका नेपालीहरुलाई स्वदेश फिर्तीका लागि सुरु भएको चौथो उद्धार उडान ८ अगस्टसम्मका लागि तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।