काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एकतर्फी स्थायी कमिटी बैठक रोकेकोमा आपत्ती जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षले बैठक गरेरै छोड्ने तयारी गरेको छ।
आवश्यक छलफल नसकिएको भन्दै एकतर्फी बैठक रोकेपछि प्रचण्ड–नेपाल समूहले बैठक बस्ने जनाएको छ। नेपाल समूहका एक नेताले स्थायी कमिटी बैठक बस्ने जानकारी गराए।
यसअघि गत साउन ६ गते केही बेर बसेको बैठक आजका लागि स्थगित गरिएको थियो।
'एकलौटी ढंगले बैठक स्थगित गरियो। हामीले बैठक चलाउँछौँ। पार्टीमा कुनै परामर्श नगरी स्थगित गरियो। यसरी बैठक स्थगित गरेर हुँदैन। पार्टीलाई अनिर्णयको बन्दी बनाउन मिल्दैन', एक स्थायी कमिटी सदस्यले भने।
नेकपा सचिवालय तथा स्थायी कमिटीमा प्रचण्ड-नेपाल समूहका नेताहरुको बहुमत छ।
यसअघि अर्को मिति तय गरेर स्थगित हुने गरेको बैठक आज भने अनिश्चित कालका लागि स्थगित गरिएको सूचना प्रशारित गरिएको छ।
'पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयकाे बैठककाे निर्णय र निर्देशनबमाेजिम प्रस्ताव तय गर्न बाँकी रहेकाे हुनाले, पार्टी स्थायी कमिटीकाे आज ११:०० बजे हुने भनिएकाे बैठक स्थगित गरिएकाे छ', प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटमार्फत जानकारी दिएका छन्।
पटकपटक स्थगित
असार १० गतेदेखि स्थायी कमिटी बैठक सुरु भएको थियो। पहिलो दिन अध्यक्ष ओली र प्रचण्डले मात्रै धारणा राखेर १२ गतेसम्म बैठक स्थगित भयो। असार १२ गते बसेको बैठक असार १४ र १५ गते स्थगित भयो। १६ गते बैठक सुरु भयो।
असार १६, १७ र १८ गते स्थायी कमिटी बैठक बसी १९ गते स्थगित गरी २० गतेका लागि बैठक बोलाइयो। पार्टीमा सहमति हुन नसकेपछि पुनः असार २२ गतेसम्मका लागि स्थगित भयो। असार २२ गते बैठक बस्न नसकेपछि २४ गतेका लागि बोलाइयो। फेरि असार २४ गते पनि बैठक बस्न नसकेपछि असार २६ गतेका लागि तय भएको थियो।
असार २६ गते बाढी पहिरो आएको भन्दै साउन २ गते बिहान ११ बजे बैठक बोलाइयो। शुक्रबार बिहान ११ बजे बैठक बस्न नसकेपछि दिउँसो ३ बजेका लागि बैठक सारियो। ३ बजे पनि बैठक बस्न नसकेपछि आइतबार दिउँसो ४ बजेसम्मका लागि बैठक स्थगित भयो।
साउन ४ गते बैठक बस्न नसकेपछि साउन ६ गते बिहान ११ बजे बस्ने तय भयो। बिहान ११ बजे बैठक बस्न नसकेपछि दिउँसो एक बजे बैठक बोलाएपनि एक घण्टा बस्न नपाउँदै बाढीपहिरोबाट जनधनको क्षति भएकाले साउन १३ गतेसम्मलाई बैठक स्थगित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।