प्रतीकात्मक तस्बिर
कास्की- गण्डकी प्रदेशमा यस वर्ष मनसुन सुरु भएता बाढी-पहिराेका कारणबाट ७८ जनाको मृत्यु भएको छ। तीमध्ये ४० महिला र ३८ पुरुष छन्।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गत बैशाख महिनादेखि प्राकृतिक विपत्तिमा परी आठ जना बेपत्ता छन् भने ६८ घाइते भएका छन्। प्रदेशका ११ जिल्लामध्ये बाढी पहिराबाट म्याग्दीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन्। म्याग्दीमा १६ महिला र १५ पुरुषको मृत्यु भएको छ भने चार महिला बेपत्ता छन्।
त्यसैगरी तनहुँमा आठ महिला र तीन पुरुषको मृत्यु तथा एक बेपत्ता छन्। कास्कीमा पाँच पुरुष र पाँच महिला गरी बाढी-पहिराेका कारणबाट १० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। लमजुङमा एक महिला तथा तीन पुरुष, स्याङ्जामा एक महिला र चार पुरुषको मृत्यु तथा एक पुरुष बेपत्ता छन्। गोर्खामा एक महिला एक पुरुषको मृत्यु तथा अर्का एक पुरुष बेपत्ता छन्।
पर्वतमा ६ महिला र तीन पुरुषको मृत्यु भएको छ भने नवलपरासी पूर्वमा एक महिला र एक पुरुषले ज्यान गुमाएका छन्। बागलुङमा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन्। प्रदेशका मनाङ र मुस्ताङमा भने हालम्म प्राकृतिक विपत्तिका घटनाबाट मानवीय क्षति नभएको बताइन्छ।
कास्कीमा सात महिला र पाँच पुरुष गरी १२ जना पहिरामा परी घाइते भएको प्रनाउ रेग्मीले जानकारी दिए। त्यसैगरी लमजुङमा ११ महिला र १२ पुरुष गरी २३ तथा म्याग्दीमा छ महिला सात पुरुष गरी १३ जना घाइते छन्। स्याङ्जामा आठ पुरुष र दुई महिला, तनहुँमा तीन महिला तथा चार पुरुष, पर्वतमा एक पुरुष र बागलुङमा एक/एक महिला पुरुष बाढी-पहिराेमा परी घाइते भएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।