पटना- गाढा रातो रंगको पसिनाले भिजेको सर्ट, गलामा झुण्ड्याइएको सिक्री र गुलाबी रंगको चस्मा। ३२ वर्षीय टोनी शख प्लास्टरको काम गरेर मानिसहरूका घर सुन्दर बनाउँछन्। पटना विमानस्थलमा उनी भेटिए रातको ९ बजेतिर। उनी उडानको प्रतीक्षामा थिए। उनले पटनाबाट जहाजमार्फत् श्रीनगर जानका लागि ६ हजार रुपैयाँको टिकट लिएका थिए।
योभन्दा अगाडि उनले आफ्नो गाउँ बरमुतरा (बिहारको सुपौल जिल्लाबाट) पटना विमानस्थलसम्म आउनका लागि ३ सय रुपैयाँ खर्च गरिसकेका थिए। दुई बच्चाका पिता टोनी भन्छन्, ‘दश हजार रुपैयाँ ऋण लिएर काम गर्न जाँदैछु। ब्याजदर सयकडा ५ रुपैयाँ छ। महिना-महिनामा ब्याज दिनुपर्छ। नत्र भने साहुले परिवारलाई कुटपिटसम्म गर्न सक्छन्। गाउँमा केही काम मिलेन त्यसैले बाध्यताले जानुपर्यो। ट्रेन बन्द छ। त्यसैले जहाजबाट जाँदैछु।’
पहिलो हवाई यात्रा : बाध्यता पनि, खुसी पनि
पटना विमानस्थलमा उडानको पर्खाइमा बस्ने टोनी शेख एक्ला मजदूर होइनन्। २३ मे को दिउँसो १ बजेतिर मैले पटना विमानस्थलको पार्किङ नजिकै एउटा रुखमुनि आफ्नो फ्लाईट कुरिरहेका सयौँ मजदूर।
विहारका भित्री क्षेत्रबाट आएका यी मजदूरहरु आफ्नो फ्लाईटको समयभन्दा १५/१६ घण्टा पहिले नै त्यहाँ आइपुगेका थिए। उनीहरु ज्यादै गर्मी खेप्दै पर्खाइमा थिए। कोही सुतेका, कोही मोबाईल चलाईरहेका थिए। कोही मास्क लगाएका थिए तर सामाजिक दुरी कायम गरेका थिएनन्।
भुइँमा आफ्नो-आफ्नो बिछ्यौना ओछ्याइएको थियो। भुटेको चिउरा, प्याज, बिस्कुट, रोटी, पुरी, साग हवाई यात्राका लागि अन्तिम खानाको तयारीमा थिए। त्यो अन्तिम खाना उनीहरुको आफ्नो पहिलो हवाई यात्राको लागि। जुन बाध्यता थियो तर उनीहरु मध्ये धेरैको सपना पनि थियो।
ऋणको पैसाले टिकटको व्यवस्था
जम्मूमा निर्माण क्षेत्रमा काम गर्ने मोहम्मद जुम्मनसँग मैले केही समय कुराकानी गरेँ। उनले केही लजाउँदै बताए, ‘परिवारले राम्रोसँग जानू भनेका छन्। अर्का एकजना जानकार युवकले जहाजमा बेल्ट बाध्नुपर्छ र अर्को कपडा लगाउन पाइन्छ भनेका थिए।’
श्रीनगर, लेह लद्दाख, हैदराबाद, जम्मू, दिल्लीसहित देशका हरेक स्थानमा जाने यी कतिपय मजदूरहरुको टिकट उनीहरुको ठेकेदार वा कम्पनीले पठाएका थिए। केही मजदूरहरु आफैँ ऋण लिएर काममा जाँदै थिए।

श्रीनगर, जम्मू, लेह लद्दाख जाने मजदूर मे महिनादेखि नोभेम्बर महिनासम्म त्यहाँ बस्छन्। त्यो क्षेत्रमा जाडो मौसम सुरु भएपछि उनीहरू आफ्नो गाउँ फर्कन्छन्। यस पटक लकडाउनका कारण मजदूरहरु कामका लागि मे महिनामा त्यता जान पाएनन्।
कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै १ जुलाईदेखि १२ अगस्टसम्म नियमित समय तालिकाका साथ सबै ट्रेन चलाउन रद्द गरिएको छ। विशेष राजधानी र मेल एक्सप्रेस ट्रेनको सेवा भने जारी रहनेछ।
थोरै भाग्यशाली मजदूर जसको खर्च कम्पनीले बेहोरिदियो
शिवु राय बांका जिल्लाका खुली डुमरी ब्लकको सादपुर पञ्चायतका हुन्। उनी १० हजार रुपैयाँमा गाडी रिजर्भ गरेर आफ्ना साथीहरुका साथ पटना विमानस्थल पुगे। शिवु आफ्ना छोरा कञ्चनकुमारका साथ लेह-लद्दाख जाँदैछन्। उनी थोरै भाग्यशाली मजदूरमध्ये एक हुन् जसको बाटो खर्च कम्पनीले बेहोरिदिएको छ।
शिवुका छोरा कञ्चन भन्छन्, ‘हामीलाई त्यहाँ १६ हजार रुपैयाँ पारिश्रमिक दिइन्छ। यहाँ गाउँमा पनि खेतीको सबै काम सकियो, यहाँ बसेर के गर्ने?’ यसैगरी बांकाका मुकेश रायले भने, ‘गाउँमा केही काम छैन। कति दिन बसेर खाने ? काम त गर्नै पर्यो।’
मुजफ्फरपुरका नीलेश कुमार र पूर्वी चम्पारणका मोहम्मद कामरान पहिलो पटक रोजगारीका लागि हैदराबाद जाँदैछन्। उनीहरुको हवाई टिकट कम्पनीले बेहोरिदिएको छ।
कोरोनाले लैजाँदैछ ऋणतिर
मोहम्मद सलीम र मोहम्मद अकैतले ऋण लिएर हवाई टिकट काटे। मोहम्मद सलीमले सयकडा ५ रुपैयाँमा त मोहम्मद उकैतले सयकडा १० रुपैयाँ ब्याजदरमा ऋण पाए। सानै उमेरका मोहम्मद अकैत आक्रोशित पनि थिए। उनले भने, ‘चुनाव भयो भने चाहिँ सरकारले भोटरको सूची बनाउँन घरघरमा मान्छे पठाउँछ। तर अहिले लकडाउनमा हाम्रो अवस्था के छ भनेर कहिल्यै सोधेन। सरकारको नियम यही हो?’
मोहम्मद सलीम भन्छन्, ‘एक तारिखमा ईद छ। त्यो समयमा हामी परिवारसँग हुनुपर्छ। पैसा खर्च हुन्छ। तर अब के होला ? उल्टै हामी ऋण थपेर जाँदैछौँ। ऋण तिर्न सकेनौँ भने साहुले परिवारलाई मार्छ।’
काम र रासन
यतिबेला काम र खानपानको सवाल महत्वपूर्ण बनेको छ। बिहार सरकारले काम र रासनसम्बन्धी के व्यवस्था गर्याे? सुपौलको कक्षा ८ मा पढ्ने ललनकुमार राय जवाफ दिन्छन्, ‘यहाँ केही काम पाइँदैन। अनन्तनागमा प्लास्टरको काम गर्याे भने त ६०० रुपैयाँ पारिश्रमिक पाइन्छ। तर सरकार भन्छ रासन दिन्छौँ। सरकार त चामल मात्रै दिइरहेको छ। त्यो पनि थोरै। दाल आजसम्म पिडिएसको पसलबाट पनि पाइएको छैन।’
हवाई जहाजको टिकटका लागि ऋण लिएर हिडेका मोहम्मद वासिल सुनाउँछन्, ‘यो हवाई जहाजबाट जानुपर्दा अनावश्यक पैसा खर्च भइरहेको छ। यहाँ काम छैन फेरि बसेर के गर्नु ? बाहिर गयो भने त दश रुपैयाँ भए पनि कमाइ हुन्छ। यसैले ऋण लिएर जाँदैछु। तर मेरो घरबाट म मात्र जाँदैछु। छोराहरु यो पटक यहीँ रोकिए।’
सरकारको दाबी
विहारका सूचना एवं जनसम्पर्क विभागका सचिव अनुपम कुमारका अनुसार राज्य सरकारले कोरोनाको समयमा रोजगारी प्रदानलाई विशेष प्राथमिकता दिएको छ।
उनले भने, ‘हालसम्म ५ लाख ५५ हजार योजनामा ११ करोड ४२ लाख दिन बराबरको रोजगारी सिर्जना भएको छ। राशन कार्डको कुरा गर्दा राज्यमा वञ्चित परिवारमध्ये ९१ प्रतिशत परिवारले राशन कार्ड पाइसकेका छन्।’
सरकारको दाबीलाई एकातिर राख्ने हो भने पटना विमानस्थलमा दैनिक हवाई यात्रा गर्ने मजदूरहरुको ठूलो संख्याले योभन्दा फरक दृश्य देखाइरहेको छ।
बिबिसी हिन्दीबाट अनुदित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।