काठमाडौं- पछिल्लो समय स्पेसिफाइड स्किल वर्कर (एसएसडब्ल्यु) प्रणालीअन्तर्गत जापान रोजगारीमा पठाउने प्रलोभन देखाएर युवाहरुलाई ठगी गर्ने क्रम बढेको पाइएको छ।
नेपाल सरकार र जापानबीच अघिल्लो वर्ष भएको समझदारीअनुसार जापान रोजगारीमा पठाइदिने भन्दै जापानी भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श केन्द्र तथा सीप प्रशिक्षण केन्द्रहरुले युवाहरुसँग रकम असुली गर्ने क्रम बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
तर एसएसडब्ल्यु प्रणालीअन्तर्गत रोजगारीका लागि कामदारहरु जापान पठाउने प्रकृया सुरु भइनसकेको हुँदा प्रलोभनमा नपर्न मन्त्रालयले सुझाएको छ।
यो प्रणालीअन्तर्गत युवाहरुलाई जापान रोजगारीमा पठाउँदा वैदेशिक रोजगार विभागअन्तर्गत जापान इकाईमार्फत कामदार छनौट हुने हुँदा प्रलोभनमा परेर अन्य निजी क्षेत्रहरुलाई रकम नबुझाउन मन्त्रालयले आग्रह गरेको छ।
एसएसडब्ल्यु प्रणालीमार्फत नेपाली श्रमिकहरु जापान पठाउन आवश्यक गृहकार्य भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।