प्युठान- प्यूठानमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको शव परिवारको जिम्मा लगाइएको छ। प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा शव परीक्षणपछि आज बिहान परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।
रोल्पा रुन्टिगढी गाउँपालिका– ५ वाइजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, कविराम बस्नेत, गोवर्धन बुढामगर र ट्र्याक्टर चालक रोल्पाको त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवरको शव परिवारको जिम्मा लगाइएको उनले बताए।
स्वर्गवारी नगरपालिका–३ रुमालेमा शनिबार राति लु२त ४२३४ नं को ट्र्याक्टर दुर्घटना हुँदा भिङ्ग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको थियो। ट्र्याक्टरमा सवारमध्ये रोल्पा रुन्टिगढी गाउँपालिका– ५ का २० वर्षीय विशाल थापा भने सकुशल छन्।
बाटो छेउको पिलर छोपेर आफू बाँच्न सफल भएको उनले बताए। ट्र्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।