फाइल तस्बिर
तनहुँ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताएका छन्। व्यास नगरपालिका–१० सिसुवा, भतेरीमा स्थानीय गाईको संरक्षण गर्न निर्माण गर्न लागिएको ट्रस्टको शिलान्यास गर्दै आइतबार उनले नेपालमा अधिकांश हिन्दू जनता भएकाले सनातन हिन्दूराष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए।
धार्मिक भावना घट्दै गएकाले देशमा हत्या, हिंसा, बलात्कारजन्य घटना बढ्दै गएको बताउँदै उनले धर्मले सदाचारी नेता, नैतिकवान् कर्मचारी तथा शान्त समाज निर्माणमा सहयोग पुग्ने हुँदा हिन्दूराष्ट्रको संरक्षण गर्नुपर्ने धारणा राखे।
नेपालमा करिब ६० प्रतिशत धार्मिक पर्यटक आउने गरेको र हिन्दूराष्ट्र घोषणा गर्दा यो सङ्ख्या अझ बढ्ने उनको विश्वास छ। विश्वको एकमात्र हिन्दूराष्ट्रभन्दा नेपाल सबै हिन्दूको आस्थाको केन्द्र बनाउनुपर्नेमा जोड दिए।
लक्ष्मी पूजालगायतका हाम्रो धर्ममा गाई अनिवार्य आवश्यकपर्ने हुँदा यसको संरक्षणका लागि स्थानीय तहबाटै पहलकदमी गरिनुपर्ने उनको भनाइ थियो। 'गौमातालाई स्वास्थ्य राख्नका लागि पौष्टिक आहार व्यवस्था गर्नुपर्छ,' उनले भने।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले गौसंरक्षणले फोहर र सवारी दुर्घटनामा न्यूनीकरण आएको बताए। व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले गाईलाई हेलाको दृष्टि हेर्न थालेकाले गाईको महत्वका बारेमा जनचेतना जगाउनु तथा गाईको मूत्र प्रशोधन गरेर औषधि बनाउनुपर्नेमा जोड दिए।
भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको रु पाँच लाखको सहयोगमा ट्रष्ट निर्माण गर्न लागिएको हो। व्यास नगरपालिकाले केन्द्रका लागि रु १२ लाख सहयोग गरेको छ। केन्द्रमा हाल सानाठूला गरी ५० वटा गाई राखिएको छ। केन्द्र सञ्चालनका लागि करिब ३०० रोपनी सार्वजनिक जग्गा भएको वडाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।