सुर्खेत- जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ बाट प्रभावित भई क्वारेन्टाइन, आइसोलेसनमा बसेका वा डिस्चार्ज भई घर गएका व्यक्तिलाई दुर्व्यवहार नगर्न अनुरोध गरेको छ। पछिल्लोपटक क्वारेन्टाइन आसपासका समुदायले कोरोना प्रभावितलाई दुर्व्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरेका खबर सार्वजनिक भएपछि प्रशासनले यस्ता अपमानजनक व्यवहार नगर्न सबैमा आग्रह गरेको हो।
'घरपरिवारका सदस्य, छिमेकी वा अन्य व्यक्तिहरुले होच्याउने, अपमानित गर्ने, घृणा गर्ने, दुर्व्यवहार गर्नेजस्ता अमानवीय कार्य सामाजिक सद्भाव, शान्ति र कानून विपरीत भएको अवगत नै छ', प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यस्ता दण्डनीय कार्य गर्नेविरुद्ध गाउँ/नगरपालिका, प्रहरी वा प्रशासन कार्यालयलाई समयमै सूचना उपलब्ध गराई पीडितलाई न्याय प्रदान गर्न सहयोगको अपेक्षा गर्दछौँ।'
प्रशासनले कानून विपरीत यस्ता कार्य गर्ने जोकोहीलाई प्रचलित कानूनबमोजिम गरिने चेतावनी दिएको छ। समाजले होच्याउने वा अपमानजनक व्यवहार गर्ने हुँदा कतिपय व्यक्ति कोरोना भाइरस परीक्षण गराउन तयार नहुने समस्या देखिएपछि प्रशासनले दुर्व्यवहार गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।