एजेन्सी-विश्वकै अत्यधिक पर्यटक पुग्ने फ्रान्सको लुभ्र संग्रहालय झन्डै साढे तीन महिनापछि पुनः खुलेको छ। कोरोना भाइरसको खतरा बढ्दै गएपछि बन्द गरिएको संग्रहालय सोमबारदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको हो।
पहिलो दिन सोमबार नै झण्डै ७ हजार मानिसले संग्रहालय भ्रमण गरेको जनाइएको छ। जबकि कोरोना संक्रमण फैलिनुअघिसम्म दैनिक ३० हजार मानिसले त्यहाँको भ्रमण गर्ने गरेका थिए।
त्यहाँ आउनेलाई मास्क लगाउन अनिवार्य गरिएको संग्रहालयका अध्यक्ष तथा निर्देशक जेन लुक मार्टिनेजले जानकारी दिए।
हरेक चरणमा ५०० आगन्तुकहरूलाई व्यवस्थापन गर्ने गरिएको उनले बताए। त्यसका लागि उनीहरूलाई आधारभूत स्वास्थ्य सतर्कता र मापदण्डहरू पुरा गर्नैपर्ने व्यवस्था पनि गरिएको उनको भनाइ छ।
आगन्तुकहरूलाई बस्ने ठाउँमा सामाजिक दूरी कायम हुनेगरी व्यवस्था गरिएको र एकातिरबाट जाने र अर्कोतिरबाट निस्कने व्यवस्था गरिएको छ। एउटै बाटोमा फर्केर हिँड्न नपाइने नियम लगाइएको मार्टिनेजले बताए।
चर्चित यस संग्रहालय गत मार्च महिनाको १३ तारिखदेखि बन्द रहेको थियो। संग्रहालयमा युरोपेली देशबाहेक चीन, दक्षिण कोरिया, जापान, अमेरिका, ब्राजिललगायतका देशबाट आउने आगन्तुकहरू भने नदेखिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।