काठमाडाैं- चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन्। आर्थिक वर्ष २०७५/७६ मा ४६ र आव २०७६/७७ मा २१ उजुरी दर्ता भएका हुन्। ती उजुरीमध्ये अधिकांश घरजग्गा र बाटोसम्बन्धी रहेका छन्।
नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक लिशा नकर्मीका अनुसार जग्गा, करार, मानाचामल, ढल , घरेलु हिंसासम्बन्धी बढी उजुरी आउने गरेको छन्। नगरपालिकाले उजुरी आएका अधिकांश मुद्दा मिलान गरिसकेकाे छ।
'हामी निरन्तर छलफलमा छौँ, बाँकी रहेका मुद्दा पनि चाँडो टुङ्गो लगाउँछौँ', उनले भनिन्। नगरपालिकाले उजुरी आएपछि सात दिनको म्याद तामेली राखेर छलफल चलाउँदै आएको छ।
उनले उजुरी कर्ता र कसका लागि दिएको ती व्यक्तिसँग छुट्टाछुट्टै छलफल गर्ने गरिएको बताइन्। यसपछि दुवै जनालाई बोलाएर संयुक्त छलफल गरेर मुद्दा टुङ्ग्याइदै आएको उनले जानकारी दिइन्।
नगरपालिकाले मुद्दाको टुङ्गो लगाउन मेलमिलाप कर्तासमेत तोकेको छ। हालसम्म ४० भन्दा बढी व्यक्तिलाई मेलमिलाप सम्बन्धी तालीम दिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको इजलास हरेक हप्ताको सोमबार बस्दै आएको छ। नगरपालिकामा धेरै मुद्दा दर्ता भए इजलास समय पनि थप गरिँदै लैजाने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।