काठमाडौं– वैदेशिक रोजगारीका लागि ४७ श्रमिकले पुनः श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका अनुसार शनिबारमात्रै ४७ जनाले पुनः श्रम स्वीकृति लिएका हुन्।
शनिबार ब्रुनाईका लागि १, इजरायलका लागि ८, जापानका लागि ५, माल्टाका लागि १७, ओमानका लागि १, पोल्याण्डका लागि २, कतारका लागि १, दक्षिण कोरियाका लागि १ र युएईका लागि ११ जना गरी जम्मा ४७ जनाले पुनः श्रम स्वीकृति लिएका हुन्।
असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण विदेश जान नपाएका श्रमिकहरुलाई वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै बिहीबारदेखि पुनः श्रम स्वीकृति दिन सुरु गरिएको छ।
त्यसयता पुनः श्रम स्वीकृति (रि-इन्ट्री ) का लागि वैदेशिक रोेजगार काठमाडौं कार्यालयमा सेवाग्राहीको चाप बढ्न थालेको छ। वैदेशिक रोजगार सम्बद्ध सफ्टवेयरमा समस्या आएसँगै शुक्रबार पुनः श्रम स्वीकृति जारी गर्न नसकिएपछि कार्यालयले शनिबार समेत सेवा प्रवाह गरेको हो।
बिदामा नेपाल आएका तथा भिसा र करार अवधि बाँकी रहेका श्रमिकहरुका हकमा कोरोना परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गरी वैदेशिक रोजगारीमा पठाइने वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका प्रमुख उमेश बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।