जनकपुरधाम–प्रदेश २ मा क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको छ भने होम क्वारेन्टाइनमा बस्नेको संख्यामा वृद्धि भएको छ। प्रदेशका आठवटै जिल्लामा रहेका ४५५ वटा क्वारेन्टाइनमा असार १८ गतेसम्ममा बस्नेको संख्या तीन हजार ७७० मा झरेको छ।
यसअघि, असार १ मा प्रदेशका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १५ हजार ५८१ थियो। कतिपयको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र संक्रमण पुष्टि भएपछि उपचारका लागि आइसोलेसनमा राखिएका कारणले क्वारेन्टाइनमा बस्नेको संख्या निरन्तररुपमा घट्दै गइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आए पनि होम क्वारेन्टाइनमा बस्नेको संख्यामा भने वृद्धि भएको छ। मन्त्रालयको तथ्यांकअनुसार असोज १ गतेसम्म होम क्वारेन्टाइनमा बस्नेको संख्या ११ हजार ६४३ थियो। असार १८ गतेसम्ममा प्रदेश २ मा संक्रमित संख्या १८ हजार ५६० पुगेको छ।
प्रदेशमा असार १८ सम्म ४४ हजार २३२ जनाको स्वाबको नमूना संकलन गरिएको छ। तीमध्ये पुरुष तीन हजार ३२४ र महिला २२० गरी तीन हजार ५४४ जना कोरोनाबाट संक्रमित भएका छन् भने ३७ हजार ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ। तीन हजार ६०३ जनाको रिपोर्ट आउन बाँकी रहेको सो मन्त्रालयले जनाएको छ।
प्रदेश २ मा संक्रमितमध्ये एक हजार ९२३ जना उपचारपश्चात निको भएका छन् भने तीन जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।