सुर्खेत-कर्णालीमा कोरोना संक्रमित हुनेको भन्दा निको भएर घर जानेको संख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ संक्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल संक्रमितमध्ये ८० प्रतिशत निको भएका छन्।
दुई महिलासहित ५१ जना घर फर्केका छन् । निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट छ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका दुई जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
'शुक्रबार निको हुनेसँगै कर्णालीमा कोरोना उपचार गराएर घर फर्कनेको संख्या एक हजार १७८ पुगेको छ', महाशाखा प्रमुख डा तिवारीले भने, 'यसले बाँकी रहेका ३०५ संक्रमितको मनोबल बढेको छ ।' कर्णालीका संक्रमितमा कोरोना भाइरसको संक्रमण देखिए पनि अहिलेसम्म लक्षण नदेखिएको उनले बताए।
दैलेख अस्पतालमा गरिएको आरटी पिसीआर परीक्षणमा नारायण नगरपालिकाका आठ र डुङ्गेश्वर गाउँपालिकाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ४८३ पुगेको छ । त्यसमध्ये १०५ जना स्थानीय संक्रमित हुन् भने बाँकी सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।
महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार स्थानीय संक्रमितमा स्वास्थ्यकर्मी, क्वारेन्टाइन र आइसोलेसनमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि छन् । अधिकृत कँडेलले भन्नुभयो, '२३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधि र अन्य १५ जना स्थानीयमा कोरोना संक्रमण देखिएको छ, तीमध्ये धेरैजसो निको भएर फेरि काममा फर्किसकेका छन्।' कोरोना संक्रमणका कारण कर्णालीमा हालसम्म छ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।