नयाँदिल्ली- पतञ्जली आयुर्वेद कम्पनीले कोरोना भाइरसको औषधि बनाएको दाबी नगरेको बताएकाे छ।
भारत उत्तराखण्डको आयुष मन्त्रालयद्वारा मागेको जानकारीमा उक्त संस्थाले आफ्नो पुरानो दावीलाई घुमाउरो पारामा फिर्ता लिँदै भनेको छ, ‘पतञ्जलीले कहिल्यै पनि कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको छैन। तर आफ्नो औषधिले कोरोना भाइरस संक्रमित बिरामी निको भएको बताएको हो।’
आयुष मन्त्रालयद्वारा प्रदान गरिएको अनुमतिपत्रअनुसार औषधि बनाइएको जवाफ मन्त्रालयलाई पतञ्जलीका कार्यकारी प्रमुख आचार्य बालकृष्णले दिएका हुन्।
‘हामीले तुलसी गिलोय अश्वगन्धाको आधुनिक तहको संयोजनबाट तयार गरिएको औषधि कोभिड–१९ को बिरामीलाई क्लिनिकल परीक्षणका लागि दिएको र यसको सेवनले उनीहरू निको भएका हुन्। तर हामीविरूद्ध षड्यन्त्र भएको छ‚ यदि मन्त्रालयले परीक्षण गर्न भनेमा क्लिनिकल परीक्षणबाट आफ्नो दाबीलाई पुष्टि गरिनेछ। हामी यसलाई सामना गर्न तयार छौँं।’
यसै महिनाको सुरूमा पतञ्जली आयुर्वेदले निम्स विश्वविद्यालयको सहकार्यमा कोरोनिल र स्वासारीवाती नामक औषधिको सार्वजनिक गर्दै यसले कोरोना भाइरस संक्रमित बिरामी निको भएको दाबी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।