नयाँदिल्ली- भारतले सोमबार टिकटकसहित ५९ वटा एप्लिकेसनहरू प्रतिबन्ध लगाएसँगै त्यहाँ चिनियाँ सामानको बहिस्कार अभियान नै चलेको छ। टिकटक चीनको बाइट–डान्स कम्पनीले निर्माण गरेको एप्लिकेसन हो। भारत सरकारले सोमबार अबेर ५९ वटा चिनियाँ मोबाइल एप्समाथि एकैसाथ प्रतिबन्ध लगाएको थियो जसमा टिकटक पनि समावेश छ।
भारतका टिकटक प्रमुख निखिल गान्धीले एक विज्ञप्ति जारी गरी टिकटकले भारतीय कानुनबमोजिम प्रयोगकर्ताका सबै तथ्यांक र विवरण सुरक्षित राखेको बताएका छन्। उनले टिकटकका प्रयोगकर्ताका कुनै पनि विवरणलाई चीन सरकारसहित कुनै विदेशी सरकारलाई नदिइएको स्पष्ट पारेका छन्।
गान्धीले भविष्यमा समेत कुनै सरकारले प्रयोगकर्ताका विवरणका लागि अनुरोध गरेमा पनि नदिइने बताउँदै टिकटकले प्रयोगकर्ताको गोपनीयतालाई सर्वाधिक महत्व दिइरहेको स्पष्ट पारे। उनले भारत सरकारले आफूलाई गोप्यताका विषयमा छलफल गर्न आमन्त्रण गरेको पनि जानकारी गराए।
एक अनुमानअनुसार भारतमा टिकटकका करिब एक करोड २० लाख प्रयोगकर्ता छन्। टिकटकका चीनबाहेक सबैभन्दा बढी ग्राहक भारतमा रहेका छन्।
भारतीय सूचना प्रविधि मन्त्रालयले चिनियाँ एप्सका कारण भारतको सार्वभौमिकता र अखण्डता, भारतको सुरक्षा, राज्यहरुको सुरक्षा एवं सार्वजनिक जीवनमा चुनौती उत्पन्न भएको जनाएको छ।
चीन र भारतीय फौजबीच लद्दाखमा गत जुन १५ मा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुवै देशबीच तनावको स्थिति छ। यस क्षेत्रमा अहिले अतिरिक्त सुरक्षाफौज, लडाकू विमान र अन्य उपकरण तैनाथ गर्ने क्रम जारी छ।
यसैबीच, भारतमा चिनियाँ सामानको बिक्री तथा चीनबाट सामान आयातमा समस्या उत्पन्न हुन थालेको छ। गत साता, नयाँ दिल्लीको एउटा प्रमुख होटल संघले आफ्ना सदस्य होटलहरुले चिनियाँ पर्यटकलाई आश्रय नदिने तथा चीन निर्मित सामान पनि प्रयोग नगर्ने घोषणा गरेको थियो।
भारतमा चिनियाँ इलेक्ट्रोनिक्स वस्तुका उत्पादनहरुको पनि बाक्लो उपस्थिति रहेको छ। चिनियाँ मोबाइलहरु साओमी र ओप्पोले भारतको झण्डै ६५ प्रतिशत हिस्सा ओगटेको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।