सानफ्रान्सिस्को– अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ- ७३७ म्याक्स शृंखलाका विमानहरू पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ। एकपछि अर्को विमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका विमान उडाउन प्रतिबन्ध लगाएको थियो।
एफएएद्वारा जारी वक्तव्यमा बोइङ- ७३७ म्याक्स विमान सोमबार सियाटलको बोइङ फिल्डबाट पहिलो चरणको परीक्षणका लागि उडान भरेको उल्लेख छ। संघीय प्रशासन र बोइङ कम्पनीबीच विमानको स्वचालित फ्लाइट कन्ट्रोल सिस्टम परीक्षण गर्न यस साता परीक्षण उडानहरु गर्न सहमति भएको थियो।
अधिकारीहरुका अनुसार संघीय प्रशासनले तोकेका कार्यविधि पूरा भए/नभएको बारेमा जाँच गर्न परीक्षण उडानको अनुमति दिइएको हो। तर यी उडानको सफलतापछि पनि तत्कालै विमानलाई आम जनताको सेवाका लागि प्रयोगमा ल्याइने छैन। अरु केही प्राविधिक परीक्षण पनि गर्नुपर्ने एफएएको भनाइ छ।
एफएएले सम्पूर्ण प्राविधिक जाँच सम्पन्न भएर सन्तोषजनक नतिजा प्राप्त भएपछि मात्र उडान अनुमति दिइने जनाएको छ।
बोइङको ७३७ म्याक्स जेटहरु गत वर्ष मार्चदेखि नै विश्वभर उडान प्रतिबन्धित छन् र जहाजहरु विमानस्थलहरुमा थन्किएका छन्। एक वर्षभित्रै दुईवटा विमान दुर्घटना भएपछि विश्वका विभिन्न देशले यो जहाजको उडानमा प्रतिबन्ध लगाएका थिए।
अनुसन्धाताहरुले विमानको फ्लाइट कन्ट्रोल सफ्टवेयरमा समस्या आएका कारण विमान दुर्घटना हुने गरेको अनुमान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।