टोकियो- जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी-७) को सदस्यता दिने प्रस्ताव अस्वीकार गरेको छ।
राष्ट्रपति ट्रम्पले यस वर्षको जी-७ को वार्षिक बैठकमा रूस, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रण गरेका छन्।
उनले जी-७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर्फ असफल हुन लागेको तर्क गर्दै जी-७ को सदस्यता विस्तार गर्न चाहेका छन्।
राष्ट्रपति ट्रम्पको उक्त भनाइ सार्वजनिक भएलगत्तै जापानको उच्च कुटनीतिक तहबाट जापानको धारणा दर्ता गरिएको जापानी समाचार संस्था क्योदोले जनाएको छ।
जापानसँगै दक्षिण कोरिया र भारतलाई जी-७ को सदस्यता दिँदा एसियाली मुलुकहरुबाट एकमात्र सदस्य रहेको जापानको शाख गुम्ने जापानी धारणा छ। जी-७ मा हाल जापानसहित क्यानाडा, फ्रान्स, जर्मनी, इटाली र संयुक्तराज्य अमेरिका तथा युरोपेली युनियन सदस्य छन्।
जी-७ को वार्षिक सम्मेलन यसअघि जुनमा गर्नेगरी निर्णय भए पनि कोरोना भाइरसका कारण उक्त सम्मेलन आगामी सेप्टेम्बरमा गर्ने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।