एजेन्सी- विश्वभरी फैलिएको कोरोना भाइरसबाट सिर्जित महामारीबीच पनि पोल्याण्डमा आइतबार मतदान भएको छ।
नयाँ राष्ट्रपति चयनका लागि पोल्याण्डबासीले मतदान गरेका हुन्। यो निर्वाचन गत मेमै हुनुपर्ने भए पनि कोरोना भाइरसको महामारीका कारण जुन २८ का लागि सरेको हो।
निर्वाचनका लागि वर्तमान राष्ट्रपति अन्ड्राज डुडासँगै अरु दश जना चुनावी प्रतिस्पर्धामा रहेका छन्। अठ्चालीस वर्षीय डुडालाई सत्तारुढ पार्टी कानून र न्याय पार्टीको समर्थन रहेको छ। उनी दोस्रो पाँच वर्षे कार्यकालका लागि राष्ट्रपति बन्न प्रतिस्पर्धामा उत्रिएका हुन्।
पोल्याण्डको राजनीतिमा सो पार्टीले कुन हैसियत पाउनेछ भन्नेबारे पनि डुडाको नतिजाले तय गर्नेछ।
पछिल्ला विभिन्न सर्वेक्षणहरुले मतदानको पहिलो चरणबाट नै कुनै उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसक्ने देखाएको छ। त्यसैले दोस्रो चरणको मतदान गर्नुपर्ने सम्भावना देखिएको छ।
कुनै उम्मेदवारले ५० प्रतिशत मत नल्याएमा यही जुलाई १२ तारिखका दिन अर्को चरणको मतदान गराउनेगरी मिति तय भएको छ।
आइतबार भएको पहिलो चरणको मतदानको नतिजा बुधबार सार्वजनिक हुनसक्ने अधिकारीहरुले जनाएका छन्।
युरोपेली संघको सदस्य समेत रहेको यो देशमा अन्य युरोपेली देशहरुले जस्तो कोरोना भाइरसको महामारी भोग्नु परेको छैन। त्यसैले धेरै मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ।
मतदानका लागि कोरोनाबाट बच्न अपनाइने आधारभूत सुरक्षा सतर्कता भने अपनाउन मतदातालाई सचेत गरिएको छ।
३ करोड ८० लाख जनसङ्ख्या रहेको पोल्याण्डमा अहिलेसम्म ३४ हजार जना कोरोना सङ्क्रमित भएका छन् भने १ हजार ४०० जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।