काठमाडौं- कोरोना भाइरसको संक्रमणका विश्वभर १ सय ५८ नेपालीको ज्यान गएको छ। विदेशमा १ सय ३० र नेपालमा २८ गरी विश्वभर १ सय ५८ नेपालीको कोरोनाका कारण ज्यान गएको हो।
विदेशमा मृत्यु हुनेको संख्या भने यो साता संख्या शून्यमा झरेको गैह्रआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १८ हजार ७ हजारभन्दा बढी नेपालीहरू कोरोना संक्रमणबाट मुक्त भएका छन्।
संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका २६ हजार २ सय २७ जना नेपालीहरु कोरोना संक्रमित भएका छन्।
मध्यपूर्वका देशमा विगत गत दुई सातामा मात्र ८ हजारभन्दा बढी नेपालीमा संक्रमण थपिएको स्वास्थ्य समितिले जनाएको छ। हालसम्म कतारमा कोरोना संक्रमण भएका ९२ हजार मध्ये २० प्रतिशत नेपाली प्रभावित भएका छन्।
संयोजक डा सापकोटाका अनुसार यही साता पहिलो पटक साउथ अफ्रिकामा रहेका ५ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अफ्रिकी अन्य देशसहित सो क्षेत्रमा १० जना नेपालीमा कोरोना संक्रमण देखिएको हो।
यही साता बंगललादेशमा रहेका १५ जना नेपालीमा पनि कोरोना संक्रमण भएको स्वास्थ्य समितिले जनाएको छ। यस्तै भारतमा १ सय ५० जना थप नेपालीमा संक्रमण भएको छ।
नेपालको १२ हजार ३ सय ९ सहित विश्वभरका ३७ देशमा ३८ हजार ५ सय ३६ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
त्यस्तै बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ। यस्तै डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरिया, मलेसियालगायतका १९ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।