चितवन-पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह देखिएका छन्। कालिका नगरपालिका-३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा सलह देखिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिकाका स्थानीयवासीले आज बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सलहकाे सानो झुण्ड जंगलतर्फ गएको छ ।
सो क्षेत्रमा परियोजना, कृषि ज्ञान केन्द्र र नगरपालिकाका कृषि प्राविधिकले अध्ययन गरिरहेको उनले जानकारी दिए। यसैगरी शनिबार साँझ खैरहनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुण्ड उडेको जानकारी स्थानीय कृषि प्राविधिकले गराएको उनले बताए।
उनले जिल्लामा सलह कतै देखिए तत्काल खबर गर्न अनुरोध गरिएको जानकारी दिए। यससँगै भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका क्षेत्रमा फाट्टफुट्ट देखिएको भन्ने जानकारी सो केन्द्रमा आएको जनाइएको छ ।
सो केन्द्रका प्रमुख राजन ढकालले आइतबार नै वाग्मती प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बैठक बस्न लागेको बताए। कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद्, परियोजना, केन्द्रलगायत संस्थाका विज्ञ र मन्त्रालयका उच्च अधिकारीका बीचमा सो विषयमा छलफल हुने जनाइएको छ। उनले मकै बाली तत्काल थन्काउन, चैते धान यथाशीघ्र काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन र तरकारीका बेर्ना जोगाउन कृषकलाई अपिल गरिएको उल्लेख गरे।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सम्बन्धित कार्यालयका प्रमुखलाई कीरा रोकथाममा तत्काल जुट्न र के कस्तो सहयोग आवश्यक पर्छ भन्ने जानकारी दिन निर्देशन दिइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।