काठमाडौं–बारा हुँदै शनिबार प्रवेश गरेको सलह नेपालमा एक महिनासम्म रहनसक्ने आँकलन विज्ञहरुले गरेका छन्। वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको यो किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने विज्ञहरुको भनाइ छ।
वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताए। उनले भने, ‘‘वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ताभन्दा बढी बाँच्न सक्दैन। उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ। बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ।’ सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले जानकारी दिए।
८–१० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा २–४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उनले बताए। अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उनले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको उल्लेख गरे।
सलह शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको थियो । सलहलाई बिहानको समयमा विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ। साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८, ९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले सबेरै ५–६ बजेको समयमा नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।