काठमाडौं–बुटवलका पत्रकार कृष्ण पाण्डेको कार दुर्घटनामा परी निधन भएको छ। बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा गएराति भएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटनामा ३० वर्षीय पाण्डेको मृत्यु भएको हो।
कार उनी आफैंले चलाएको प्रहरीले जनाएको छ। पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा राति करिब १ बजे अस्पतालमा निधन भएको हो।
सडक किनाराको फलामे बारमा एक्कासी ठोक्किँदा दुर्घटना भएको थियो। पोष्टमार्टमका लागि शवलाई लुम्बिनी प्रादेशीक अस्पतालमा राखिएको छ। न्युज २४ मा आबद्ध उनी गीतकार पनि थिए।
गायक प्रमोद खरेलले फेसबुकमा लेख्दै पाण्डेलाई सम्झिएका छन्। उनले लेखेका छन्, ‘लकडाउन हुनु केही दिनअघि मात्र उनको शव्दमा एउटा गीत गाएको थिएँ, उनी बुटवल बसेर न्युज २४ लगायतका मिडियामा संलग्न थिए, एक जुझारु पत्रकार गीतकार अनि प्रिय भाइ कृष्णबाबु पाण्डेको गए राति बुटवल–भैरहवा खण्डमा भएको सडक दुर्घटनामा परी असामयिक निधनले दुखी बनायो, वैकुण्ठमा वास होस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।