नयाँ दिल्ली- भारतको दिल्ली राज्यका विद्यालयहरू कम्तीमा अझै एक महिना बन्द नै रहने भएका छन्। राज्यका उप मुख्यमन्त्री मनिष सिसोडियाले आगामी जुलाई ३१ तारिखसम्म राज्यभरीका विद्यालयहरू बन्द नै रहने निर्णय भएको जानकारी दिएका छन्।
लामो समयदेखि बन्द रहेका विद्यालयहरू कोरोना भाइरसको त्रासका कारण अझै पनि सूचारु गर्ने अवस्था नरहेको उनको भनाइ छ। दिल्ली राज्यको शिक्षा मन्त्रालयको जिम्मेवारी समेत लिएका उपमुख्यमन्त्री सिसोडियाले सरोकारवाला उच्च सरकारी अधिकारीहरूसँगको बैठकले पनि तत्काल विद्यालयहरू खोल्ने अवस्था नरहेको ठहर गरेको जानकारी दिए।
बैठकमा लकडाउन र कोरोना भाइरसको अवस्थासँगै शैक्षिक क्रियाकलापलाई कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल भएको थियो। विभिन्न योजनाहरू र तथ्य तथा तथ्यांकहरूमाथी एक/एक गरेर बैठकमा छलफल गरेर विद्यालय बन्द रहने निर्णयलाई आगामी जुलाई ३१ सम्म कायमै राख्ने निर्णय भएको उप मुख्यमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
प्रदेश मन्त्रालयको तर्फबाट उनले केन्द्रीय मानव श्रोत विकासमन्त्री रमेश पोख्रियाललाई यसअघि नै यस विषयमा पत्राचार गरिसकेका थिए। उनले विद्यालयहरूका लागि नयाँ नियम ल्याउन सुझाव पनि दिइसकेका छन्।
उनले जिल्लागत रुपमा सरकारी तथा निजी विद्यालयका शिक्षक तथा प्राध्यानाध्यापक, विद्यार्थी, अविभावकलगायतसँग गरिएको सर्वेक्षणका आधारमा विभिन्न निष्कर्षहरू निकालिएको र ती सबै विषय केन्द्रीय सरकारलाई पठाइएको बताए।
सर्वेक्षणबाट विद्यार्थीहरूको पढाइ र विद्यालय पुनः सञ्चालनबारे फरक फरक प्रकारका सुझाव तथा उपायहरू संकलन भएको वक्तव्यमा लेखिएको छ। उनीहरूले प्राथमिक तहको पढाइ सञ्चालन गर्दा हप्तामा एक वा दुई दिनमात्रै गर्न र प्रत्येक कोठामा १२ देखि १५ जनामात्रै विद्यार्थीहरू राख्न उपयुक्त हुने सुझाव दिएका छन्।
त्यसैगरी कक्षा ३ देखि ५ सम्मका विद्यार्थीका लागि एक एक दिन बिराएर पालै पालो कक्षा सञ्चालन गर्न अर्को सुझाव आएको पनि वक्तव्यमा उल्लेख गरिएको छ। विद्यालयमा जाने व्यवस्था गर्दा पर्याप्त सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यार्थीलाई मास्क वितरण गर्नुपर्ने, विद्यालयको प्रवेशद्वारमा हरेक दिन हरेक विद्यार्थीको ज्वरो नाप्नुपर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता अप्नाउनुपर्ने उनीहरूको सुझाव छ।
संभव भएसम्म अनलाइन अध्ययन अध्यापन कार्यलाई निरन्तरता दिनुपर्ने कुरामा अधिकांशको जोड रहेको छ। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई हप्तामा एक वा दुई वा तीन दिनमात्रै र कक्षा ९ र १० का विद्यार्थीहरूलाई सानो सानो समूह बनाएर हप्तामा एक वा दुई दिनमात्रै अध्यापन गराउन पनि शिक्षा मन्त्रालयलाई सुझाव आएको छ।
कतिपयले कक्षा १० का विद्यार्थीहरूलाई उच्च सतर्कता अप्नाउन लगाएर सामाजिक दूरी कायम गर्दै दैनिक पढाउन पनि सकिने तर अनलाइन अध्यापनलाई भने निरन्तरता नै दिनुपर्नेमा विषेश जोड दिएका छन्।
सुझाव दिनेहरूले कक्षा ११ र १२ को अध्ययन अध्यापन कार्य एक/एक दिन बिराएर गर्न सकिने वा अनलाइनबाट हुने अध्यापन कार्यलाई थप प्रभावकारी बनाउन सकिने सुझाव दिएका छन्।
जसरी पढाए पनि दिनमा तीन वा चार घण्टामात्रै पढाउन उपयुक्त हुने अधिकांशको भनाइ रहेको उप मुख्यमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ।
भावी दिनमा प्रारम्भिक चरणमा विद्यालयहरू सूचारु गर्दा माथि उल्लेखित सुझावहरूलाई मध्यनजर गरेर गर्न आफूहरूले पनि केन्द्रीय सरकारलाई सिफारिस गरेको उप मुख्यमन्त्री सिसोडियाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।