काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठकमा शनिबार पनि नेपालको सीमा अतिक्रमणबारे छलफल भएको छ। बैठकमा २१ जना स्थायी कमिटी सदस्यहरूले बैठकमा आफ्नो धारणा राखेका थिए।
बैठकमा देवेन्द्र पौडेल, गिरिराजमणि पौडेल, वामदेव गौतम, पृथ्वीसुब्बा गुरुङलगायतले विचार राखेको पार्टीका प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले बताए। बैठकमा बोल्ने अधिकांश सदस्यले नक्सा सार्वजनिक गरेको भन्दै सरकारको प्रंशशा गरेका थिए।
'भारतसँगको सीमा समस्या वार्ताको माध्यमबाट नै समाधान गर्नुपर्छ। दीर्घकालीन रूपमा नेपाल-भारत सिमानालाई नियमित गर्नुपर्छ। अहिले देखिएको सीमा समस्यामा नक्सा जारी गर्नु एउटा महत्वपूर्ण तथा ऐतिहासिक भएको र नक्सा जारी गरेपछि वार्ता नभएको स्थितिमा हाम्रो तर्फबाट ठोस प्रयत्न गर्ने र तदारूकताका साथ क्रियाशील भएर वार्तालाई अगाडि बढाउनुपर्ने बारे अधिकांश नेताहरूले धारणा राख्नु भएको छ,' बैठकपछि बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले भने, 'नेपाल-भारत मित्रतालाई महत्व दिँदै वार्ताकै माध्यमबाट यो समस्याको समाधान गर्नुपर्ने भन्दै नेताहरूले सुझाव दिनु भएको छ।'

तर बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा ५ मिनेटमात्र बसेर बाहिरिएका थिए। 'प्रधानमन्त्री आउनुभएको थियो। वहाँलाई सञ्चो नभएर एकछिन बसेर जानुभो,' नेता श्रेष्ठले भने।
जारी स्थायी कमिटी बैठक असार १६ गते पुन बस्ने गरी स्थगित भएको समेत नेता श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।