काठमाडौं-इटालियन सिरि ए फुटबलमा लिग लिडर युभेन्टसले सहज जित निकालेको छ।
शुक्रबार राति भएको खेलमा युभेन्टसले लिसीलाई ४-० गोलअन्तरले पराजित गरेको हो। युभेन्टसको जितमा पाउल डिबाला, क्रिष्टियानो रोनाल्डो, गोन्जालो हिगुइन, म्याथिज डि लिटले गोल गरे।
खेलको ३१औं मिनेटमा फावियो लुसिओनोले रातो कार्ड पाएसँगै लिसी १० खेलाडीमा सीमित भएका थिए। तर पनि पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको लिसीले दोस्रो हाफमा चार गोल खान पुग्यो।
खेलको ५३औं मिनेटमा नै डिबालाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। ६२औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दा ८३औं मिनेटमा हिगुइनले अर्को गोल थपे। डिफेन्डर लिटले ८५औं मिनेटमा गोल गरेपछि युभेन्टसले ४–० गोलको जित निकालेको हो।
यो जितसँगै युभेन्टसले दोस्रो स्थानमा रहेको लाजियोसँग ७ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानमा रहेको युभेन्टसको २८ खेलबाट ६९ अंक हुँदा लाजियोको २७ खेलबाट ६२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।