काठमाडौं-भारतमा पेट्रोलियम पदार्थको मुल्य तीन हप्तादेखि निरन्तर उकालो लागिरहेको छ। शुक्रबार भारतमा पछिल्लो २० दिन यताकै उच्च मूल्यमा पेट्रोलियम पदार्थ बिक्री भएको छ।
इन्डियन आयल कर्पोरेसनका अनुसार शुक्रबार भारतको राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ८०.१३ भारतीय रुपैयाँ र डिजेलको प्रतिलिटर ८०.१९ भारतीय रुपैयाँ छ। त्यस्तै भारतको अर्को सहर मुम्बईमा पेट्रोल प्रतिलिटर ८६.९१ र डिजेल ७८.५१ भारतीय रुपैयाँमा बिक्री भएको छ।
विश्वव्यापी कोभिड-१९ महामारीका कारण गत फेब्रुअरीदेखि अघिकांश देशमा जारी गरिएको लकडाउनका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निकै घटेको थियो। गत अप्रिल अन्तिम साता अमेरिकी बजारमा तेलको मूल्य ऋणात्मकसम्म भएको थियो। यसरी लकडाउनका कारण सवारी साधन चल्न छाडेपछि ओरालो लागेको पेट्रोलियम पदार्थको मूल्य सवारी साधन सञ्चालनमा आउन थालेसँगै उकालो लाग्न सुरु भएको छ।
कच्चा पेट्रोलियम पदार्थको मूल्यमा सुधार आउन नसकेपछि यसअघि लकडाउन अवधिमा व्यहोरेको घाटा पूर्तिका लागि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम व्यापारीले क्रमशः मूल्य बढाउँदै लगेपछि भारतमा पनि त्यसको असर देखिएको हो। यसका अलावा कोरोना भाइरसका कारण सुस्ताएको अर्थ व्यवस्थालाई मध्यनजर गर्दै भारतको केन्द्र सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको अन्तःशुल्क करको दर पनि बढाउने निर्णय गरेको थियो।
नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मुल्यअनुसार हरेक पन्ध्र–पन्ध्र दिनमा समायोजन गर्ने गरिन्छ। नेपाल आयल निगमले जुन १५ मा गर्नुपर्ने पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको छैन। अर्थात् यो महिनाभरि नै नेपालमा पेट्रोलियम पदार्थको मुल्य एउटै छ। तर अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएको परिदृश्यमा यसपटक इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाउने हुँदा नेपालमा जुलाई १ तारिखमा हुने मूल्य समायोजनमा त्यसको प्रभाव देखिने आँकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।