काठमाडौं–राष्ट्रिय शैक्षिक परामर्श संघले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी वैदेशिक अध्ययनमा गएका विद्यार्थीका स्थितिबारे छलफल गरेको छ।
संघका अध्यक्ष सन्तोष प्याकुरेलले छलफलमा विदेश अध्ययनमा जाँदा विद्यार्थीले अनिवार्य रुपमा बनाउनु पर्ने अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने प्रकृयालाई पुनः सुचारु गर्ने मोडालिटीका बारेमा पनि छलफल भएको जानकारी दिए। उनले अब छिट्टै परामर्श व्यवसायलाई सुचारु गर्ने तथा तयारी कक्षालाई अनलाइन नै सन्चालनमा लगिने कुरामा आशावादी भएको बताए।
हाल नेपालमा दुई हजारको संख्यामा वैदेशिक शैक्षिक परामर्श संस्थाहरु संचालनमा भए पनि कोभिड(१९ को महामारीका कारण तीन महिनादेखि बन्द छन् भने एनओसी रोकिएका कारणले ४ महिनादेखि विदेश अध्ययन प्रक्रिया अवरुद्ध छ। यसले गर्दा विदेश अध्ययनमा जान चाहने करिब ४ हजार विद्यार्थी मारमा परेका छन्।
यसअघि पनि संघले एनओसी खोल्नुपर्ने माग गर्दै शिक्षा मन्त्रालयका सहसचिव तथा उच्च शिक्षा महाशाखा प्रमुख रामशरण सापकोटासँग भेटघाट गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।