काठमाडौं–गृहमन्त्री रामबहादुर थापाले लागूऔषध दुरुपयोगको प्रभावकारी रोकथाम, नियन्त्रण र उपचार सेवाका लागि सबैको सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन्।
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री थापाले मन्त्रालयले लागूऔषध कारोबारमा संलग्नहरुले नयाँ मार्ग र विधिहरुको प्रयोग गरी तस्करीका गतिविधि बढाउन सक्ने संभावनालाई मध्यनजर गर्दै त्यसको प्रभावकारी नियन्त्रणका लागि आवश्यक रणनीतिहरु अवलम्वन गरिरहेको पनि बताएका छन्।
यस्तै, मन्त्रालयबाट उपचार तथा पुनस्र्थापना केन्द्र तथा अन्य सेवा केन्द्रबाट सेवा प्राप्त गरिरहेका व्यक्तिहरुको दैनिक जीवनयापनमा कोभिडले पारेको प्रभाव न्यूनीकरणमा पनि निरन्तर सहजीकरण भइरहेको पनि थापाले जनाएका छन्।
नेपालमा लागूऔषध दुरुपयोग रोकथाम र नियन्त्रण कार्यलाई प्रमाणमा आधारित एवं सूचित नीति र कार्यक्रममार्फत् सम्बोधन गर्नु पर्ने कुरालाई मध्यनजर गरी सरकारले यसै वर्ष नेपाल लागू औषध प्रयोगकर्ताहरुको सर्वेक्षण सम्पन्न गरी सो को प्रतिवेदन सार्वजनिक गर्न लागेको पनि उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।