काठमाडौं- लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गरेसँगै लिभरपुलले उपाधि आफ्नो पोल्टामा पारेको हो।
चेल्सीले सिटीलाई पराजित गर्ने क्रममा क्रिस्टियन पुलिसिक र विलियनले गोल गरे। यता, म्यान्चेस्टर सिटीका लागि केभिन डे ब्रुयनले गोल गरे। खेलको ३६औं मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई पहिलो हाफसम्म १-० गोलको अग्रता दिलाए।
खेलको ५५औं मिनेटमा ब्रुयनले गोल गर्दै म्यान्चेस्टर सिटीलाई १-१ गोलको बराबरी दिलाए। खेलको ७७औं मिनेटमा फर्नान्डिन्होले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो। पेनाल्टी एरियामा ह्यान्ड गरेपछि उनलाई रातो कार्ड दिइएको थियो।
पेनाल्टीको सदुपयोग गर्दै विलियनले चेल्सीलाई २-१ गोलको जित दिलाए।

यो जित चेल्सीको जित मात्रै रहेन, लिभरपुलले ३० वर्षदेखि प्रिमियर लिगको उपाधि जित्न नसकेको खडेरी पनि तोड्ने खेल बन्यो। लिभरपुलले ७ खेल बाँकी रहँदा नै लिगको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो।
३१ खेलबाट शीर्ष स्थानमा रहेको लिभरपुलको ८६ अंक छ। समान खेलबाट म्यान्चेस्टर सिटीको ६३ अंक छ। दोस्रो स्थानमा रहेको सिटीसँग २३ अंकको अग्रता बनाउँदै लिभरपुल लिग च्याम्पियन बनेको हो।
तेस्रो स्थानमा रहेको लेष्टरको ३१ खेलबाट ५५ अंक हुँदा सिटीलाई पराजित गरेको चेल्सीले समान खेलबाट ५४ अंक बनाउँदै लिगको चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।