काठमाडौं- बुधबारदेखि सुरु सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्दैछ। आजको बैठकमा स्थायी कमिटी सदस्यहरुले धारणा राख्नेछन्।
बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।
बुधबारको बैठकमा एजेन्डा तय गरिनुका साथै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गरेका थिए।
बुधबारको बैठकमा अध्यक्षद्वयले तय गरेको एजेन्डामाथि सदस्यहरुले असन्तुष्टि जनाएपछि केही एजेन्डा थपिएका थिए। जसअनुसार, अध्यक्षद्वयको मन्तव्य, कोरोना, सीमा समस्या, सरकारको काम, पार्टी कामको समीक्षा र संगठनात्मक एकता, एमसिसी र विविध थिए। विविध अन्तर्गत रूकुम चौरजहारी घटना, नागरिकता विधेयक तथा संघ र प्रदेशसभाका सदस्यहरूको बैठक भत्ता कटौती लगायतका विषय थिए।
आ-आफ्नो सम्बोधन ओली र प्रचण्डले एकअर्काप्रति कटाक्ष गरेका थिए। ओलीले सरकारले काम गरिरहेको तर आफ्नै पार्टीले साथ नदिएको बताएका थिए। सरकारले जे गर्दा पनि आलोचना गर्ने प्रवृत्ति बढेको र त्यसलाई पार्टीकै सदस्यले साथ दिएको बताएका थिए। त्यस्तै, प्रचण्डले सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।