जनकपुर- प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसन कक्षमै उपचार नपाएर राजु सदाको मृत्यु भएपछि प्रदेश २ को सामाजिक विकास मन्त्रालयले छानबिन समिति गठन गरेको छ। बिहीबार मन्त्रालयले घटनाको सत्यतथ्य अध्ययन गरी प्रतिवेदन पेस गर्नका लागि भन्दै छानबिन समिति गठन गरेको हो। समितिले ७ दिनको म्याद पाएको छ।
धनुषाको हंशपुर नगरपालिका, प्रसाहीका १६ वर्षीय किशोर राजु सदाको दुःखद मृत्यु भएको थियो। सो विषयमा सञ्चार माध्यममा प्रकाशित भएपछि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। मृत्युअघि उनी छटपटाएको भिडियो मिडियामा सार्वजनिक भएको थियो। भिडियोमा भुईंमा छटपटाइरहेका सदालाई आइसोलेसनमा नै बसेका व्यक्तिले बेडमा राखेको तर त्यति गर्दा पनि उनी अचेत अवस्थामा छटपटाइरहेको देख्न सकिन्थ्यो। आइतबारदेखि छटपटाउन थालेका उनको सोमबारसम्म कुनै उपचार भएन। अन्ततः सोमबार साँझ उपचार नभईकन सदाको मृत्यु भएको थियो।
‘किशोरको उपचारका क्रममा भए गरेका प्रयास एवं घटनाक्रमसँग सम्बन्धित विविध विषयका साथै दुःखद मृत्युको कारणका सम्बन्धमा सत्यतथ्य पत्ता लगाई समग्र उपचार व्यवस्थापन एवं सेवा प्रवाहको बारेमा अध्ययन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न छानबिन समिति गठन गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
समितिको संयोजकमा स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाह छन् भने प्रदेश २ का अस्पताल विकास तथा चिकित्सा सेवाका डा. नवल किशोर झा, र मन्त्रालयका महाशाखा प्रमुख दिलिप कुमार प्रधान सदस्य छन्।
यस सम्बन्धमा निजको उपचारमा संलग्न चिकित्सकहरु समेत रहेको टोलीले दिएको मेडिकल अडिट प्रतिवेदन प्रादेशिक अस्पताल, प्रदेश नं २, जनकपुरधामबाट सार्वजनिक भइसकेको छ। छानबिन समितिले उक्त प्रतिवेदनका साथै अन्य सान्दर्भिक तथ्य, तथ्यांक र सूचना र सो को थोत समेत गहन अध्ययन विश्लेषण गरी आफ्नो प्रतिवेदन प्रदेश नं २ सरकार, सामाजिक विकास मन्त्रालय समक्ष पेश गर्नेछ।
समितिले प्रस्तुत मामिलाको साथै कोभिड-१९ महामारीका सन्दर्भमा कोभिड विशेष र अन्य नियमित स्वास्थ्य सेवालाई आगामी दिनमा कसरी बढी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा समेत आफ्नो राय सुझाव प्रस्तुत गर्नेछ।
समितिले आफ्नो कार्यविधि आफै तय गर्नुका साथै आवश्यकता अनुसार प्रदेश नं २ सरकारबाट गठित चिकित्सकीय सल्लाहकार समितिका विज्ञ सदस्यहरुको राय सुझाव लिन सक्नेछ। सदाको उपचारमा कमी-कमजोरी वा लापरबाही भएको पाइए कारबाही गरिने मन्त्रालयको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।