प्रतीकात्मक तस्बिर
सिड्नी- अस्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन्। कोरोनाभाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो।
अस्ट्रेलियाकै लागि चुनौतीपूर्ण मानिएको क्षेत्रमा मानिसलाई निवासमै गएर परीक्षण गरेर सङ्क्रमण नियन्त्रण गर्ने प्रयास गर्न लागिएको अधिकारीहरुको भनाइ छ। कोरोनाभाइरसले उत्पन्न गरेको महामारी नियन्त्रण गर्न मेलबर्न क्षेत्र अस्ट्रेलियाकै लागि सवैभन्दा बढी चुनौतीपूर्ण क्षेत्र मानिएको छ।
भिक्टोरिया राज्यभरीमा बिहीबार ३३ जना नयाँ सङ्क्रमित भेटिएका छन्। अस्ट्रेलियामा तीन महिनाबीचमा यति धेरै सङ्क्रमित एकै दिनमा भेटिएको यो पहिलो पटक हो। परीक्षण कार्यमा सम्लग्न हुनुभएका प्रिमियर ड्यानियल एन्ड्र्युजले दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने योजना रहेको जानकारी दिए। उनले यही दरमा कोरोना परीक्षणको कार्य दश दिनसम्म जारी रहेने पनि बताए।
परीक्षण सवै निःशुल्क गरिने छ भने नागरिकप्रतिको दायित्वको रूपमा यो परीक्षणलाई लिइएको छ। परीक्षण कार्यमा संलग्न भएका स्वास्थ्यकर्मीहरुलाई झण्डै एक हजार सैन्य अधिकारीहरुले समेत सघाउने जनाइएको छ।
अस्ट्रेलियामा अहिलेसम्म कोरोनाभाइरसबाट कूल सङ्क्रमितको सङ्ख्या सात हजार ५०० रहेको छ भने कोरोनाका कारण १०४ जनाको मृत्यु भएको छ। -रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।