काठमाडौं– नेपालमा सार्वधिक खोजी गरेपछि पनि नभेटिएका एक अभियुक्त विदेशमा रहेको हुन सक्ने भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा रेड नोटिस जारी गरेर खोजी गरिएका एक अभियुक्त नेपालमै पक्राउ परेका छन्।
संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दाका अभियुक्त ५० वर्षीय कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङ पक्राउ परेका हुन्। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थायी ठेगाना भएका तामाङ विगत १५ वर्षदेखि फरार थिए।
२०६२ भदौ १६ गते रसुवामा पाटे बाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओतका छाला २३८ थान र बाघको हड्डी ११३ किलोसहित पाँच जना व्यक्ति पक्राउ परेका थिए। तर तामाङ भने त्यसबेला उम्कन सफल भएका थिए।
फरार तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बिहीबार काठमाडौं–६ सिमलटारबाट पक्राउ गरेको हो। तामाङलाई कारबाहीका लागि बिहीबार नै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चे पठाइएको सिआइबीका प्रवक्ता वेलबहादुर पाण्डेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।