काठमाडौं- पछिल्लो समय चलिरहेको खेलाडी किनबेचका हल्लाहरुमा स्पेनिस क्लब बार्सिलोनाले मिडफिल्डर आर्थर मेलोलाई इटालियन क्लब युभेन्टसमा बेच्ने तयारी गरेको निकै फैलिरहेको छ। जसमा आर्थर स्वयमले आनाकानी गरेका कारण सहमति हुन सकेको छैन।
ब्राजिलियन क्लब ग्रेमियोबाट २०१८ मा ६ वर्षको सम्झौता गरेर बार्सिलोना गएका आर्थरले आफ्नो उत्कृष्ट खेल बार्सिलोनामा देखाउन नपाएको महसुस गरिरहेका छन्। युभेन्टसले झण्डै ८० मिलियन डलरको अफर गरेको तर आर्थरले बार्सिलोना छाड्न नचाहेको खबर आइरहेका छन्।
बार्सिलोनाले आर्थरलाई बेचेर युभेन्टसमा नै रहेका मिडफिल्डर मिरालेम पियानिच किन्ने योजना बनाइरहेको छ। तर बार्सिलोनाले आर्थरमाथि कुनै दबाब दिने छैन। यसैले आर्थर आफैले युभेन्टसबाट आएको प्रस्ताव स्वीकार नगरेसम्म योजना सफल हुने देखिँदैन।
यसमा स्पेनिस सञ्चार माध्यम र इटालियन सञ्चार माध्यममा दुईथरि खबर आइरहेका छन्। इटालियन सञ्चार माध्यमका अनुसार अबको ४८ घन्टामा आर्थर युभेन्टस जाने खबर छन् भने स्पेनिस सञ्चार माध्यममा आर्थरले प्रस्ताव स्वीकार नगरेको खबर छन्।

बार्सिलोनामा पछिल्लो समय देखिएको संकट टार्न आर्थर उपयोगी हुनसक्ने अनुमान पनि भइरहेका छन्। समर्थकहरु बार्सिलोना एकेडेमीमा नै हुर्किएका खेलाडीले मिडफिल्ड सम्हाल्न सक्ने अवस्था आइसकेकाले आर्थर बेच्ने बहसमा तटस्थ देखिएका छन्। अब खेलाडी किनबेचका लागि अन्तिम सयम जुन ३० सम्ममा निर्णय भइसक्नु पर्नेछ।
युभेन्टसका फुटबल निर्देशक फाबियो पाराटिचीलाई उद्धृत गर्दै आइरहेका खबरमा उनले आर्थरलाई बार्सिलोनामा पाइरहेको भन्दा दुगुना तलब दिने प्रस्ताव राखिरहेका छन्। यसैले युभेन्टस आर्थर किन्ने कुरामा विश्वस्त देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।