काठमाडौं-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोभिड–१९ महामारीका बीचमा समेत नेपालले ऊर्जा क्षेत्रका कामलाई निरन्तरता दिइरहेको बताएका छन्।
विश्व बैंकद्वारा आयोजित ‘भर्चुअल हाइड्रोपावर सम्मेलन’ लाई सम्बोधन गर्र्दै मन्त्री पुनले कोभिड–१९ का कारण ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीलगायत निर्माणाधीन आयोजनाको विद्युत उत्पादनमा केही ढिलाइ भए पनि काम पूर्ण रुपमा नरोकिएको बताए।
मन्त्री पुनले आगामी आर्थिक वर्षमा एक हजार ५ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने उल्लेख गरे।
यस्तै सरकारले आगामी २०२८ सम्म नेपालको कूल विद्युतजडित क्षमता १५ हजार मेगावाट पुर्याउने लक्ष्य निर्धारण गरिएको पनि जानकारी दिए।
मन्त्री पुनले नेपालले ‘रन आफ दि रिभर’, जलासययुक्त आयोजना वा सौर्य ऊर्जा प्रवद्र्धनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो गरेर अगाडि बढ्न जरुरी रहेकामा जोड दिए।
उनले जलविद्युतमा लगानीका लागि निजी क्षेत्रमैत्री कानुनी व्यवस्था गरिएको जानकारीसमेत दिए। जलविद्युतमा लगानी आकर्षित गर्नकै लागि १० वर्षसम्म आयकरमा पूर्ण छुट, अर्को १० वर्ष ५० प्रतिशत छुट तथा भ्याटमा सहुलियतको नीति अख्तियार गरिएको मन्त्री पुनले बताए।
सम्बोधनका क्रममा उनले सरकारको सिफारिसमा विद्युत नियमन आयोगले गत सातामात्र नयाँ विद्युत महसुल निर्धारण गरेको र दुई दशकपछि नयाँ विद्युत ऐनको मस्यौदा तयार पारेर संसदमा पेश गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।