काठमाडौं- रियल मड्रिडले खेलमा रेफ्रिको निर्णयबाट फाइदा लिने गरेको टिप्पणी गरेका बार्सिलोना डिफेन्डर जेरार्ड पिकेलाई रियल मड्रिड डिफेन्डर सर्जियो रामोसले जवाफ दिएका छन्। उनले मानिसहरुलाई कल्पनामा रमाउने ठाउँ नदिन पिकेलाई भनेका हुन्।
सिजनको पछिल्लो खेलहरुका आधारमा बार्सिलोनालाई उपाधि जित्न मुस्किल हुने र रियल मड्रिडले अंक नगुमाउने अनुमान गरेका पिकेले मड्रिडलाई रेफ्रिको समेत साथ रहने विवादित अभिव्यक्ति दिएका थिए।
रियल मायोर्कालाई बुधबार राति २–० ले हराएको खेलपछि रियल मड्रिड कप्तान रामोसले भनेका छन्– ‘जति पनि हल्लाहरु आइरहेका छन् अब ती सामान्य हुनेछन्। ती हल्ला आउनुको कारण हामी शीर्ष स्थानमा पुगेकाले नै हो। पहिले त त्यस्तो आरोपहरु आउँदैन थिए त।’
‘रेफ्रिले कुनै विषेश निर्णय हाम्रा लागि गर्छन् भन्ने मलाई लाग्दैन। कुरा सुन्दा त यस्तो लाग्छ कि हामी शीर्ष स्थानमा हुनुमा पनि रेफ्रिलाई नै धन्यबाद दिनुपर्ने जस्तो। मानिसहरुलाई शंका गर्ने र बनावटी कुरा गर्ने ठाउँ नदिऔँ’ उनले भने।
मायोर्काविरुद्ध रामोसले गरेको गोल कोरोना महामारीका कारण रोकिएर सुरु भएपछिको लिगमा चार खेलमा उनको तेस्रो गोल हो। ‘मैले गोल गर्न सकेको कुराले खुसी छु। तर हामीले अझै खेलमा सुधार गर्न मिल्ने ठाउँहरु छन्। खेललाई पूरा खुसी हुन मिल्ने अवस्था छैन। उनीहरुले हामीलाई निकै कुरामा कमजोर बनाएका थिए’ उनले भने।
अहिले रियल मड्रिड र बार्सिलोना दुवैको ३१ खेलमा ६८ अंक रहेको छ। यदि लिग सकिँदासम्म बार्सिलोना र रियल मड्रिडको अंक बराबरी भएमा हेड टु हेडका आधारमा उपाधि रियल मड्रिडले जित्नेछ। लिगमा रियल मड्रिड र बार्सिलोनाले पहिलो खेल गोलरहित बराबरी खेलेका थिए भने दोस्रो खेल रियल मड्रिडले २–० ले जितेको थियो।
रियल मड्रिडले अब स्पानियोल, गेटाफे, एथ्लेटिक क्लब, अलाभेस, ग्रानडा, भिलारियल र लेगानेससँग खेल्नेछ। यस्तै बार्सिलोनाले अब सेल्टाभिगो, एथ्लेटिको मड्रिड, भिलारियल, स्पनियोल, भायाडोलिड, ओसासुना र अलाभेससँग खेल्न बाँकी छ।
लिगमा रेलिगेसन जोनमा पनि प्रतिस्पर्धा उस्तै देखिन्छ। मायोर्का, लेगानेस र स्पानियोल रेलिगेसन जोनमा देखिए पनि त्यसमाथि सेल्टा भिगो, आइबरको पनि अंक भिन्नता ठूलो छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।