काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य नहुने बताएका छन्।
राज्यव्यवस्था समितिबाट विदेशबाट आएकी महिलालाई सात वर्षे समयावधि राख्ने प्रावधान सहितको व्यवस्था पारित भएसँगै प्रतिक्रिया जनाउँदै देउवाले संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको उल्लेख गरेका छन्।
नेपाली महिलासँग बिहे गरि नेपालमा रहेका विदेशी पुरुषलाई नागरिकता उपलब्ध नहुने व्यवस्था गरिएको छ। ‘नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन,’ देउवाले ट्वीटमार्फत् आपत्ति जनाए।
महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिंगका आधारमा विभेद नहुने व्यवस्था गर्न उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग माग गरेका छन्। समानताको अवधारणा-मर्मअनुरुप नागरिकता विधेयक अघि बढाउन उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।