काठमाडौं-स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड फेरि शीर्ष स्थानमा उक्लिएको छ।
बुधबार राति भएको खेलमा घरेलु टोली रियलले मालोर्कालाई २-० गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो। रियलको जितमा भिनिसियस जुनियर र सर्जियो रामोसले गोल गरे।
ब्राजिलियन खेलाडी जुनियरले खेलको १९औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म रियललाई १-० गोलको अग्रता दिलाएका थिए। खेलको ५६औं मिनेटमा रामोसले गोल गर्दै रियललाई २-० गोलको जित दिलाए। यो गोलसँगै रामोसले जारी सिजनमा १० गोल पूरा गरेका छन्।
बुधबार राति नै भएका अन्य खेलमा ओसासुनाले अलाभेसलाई १–० गोलअन्तरले पराजित गर्दा सेल्टा भिगोले रियल सोसाइडेडलाई १-० गोलअन्तरले नै पराजित गरेको छ।
जितसँगै शर्ष स्थानमा उक्लिएको रियलको ३१ खेलबाट ६८ अंक छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ६८ अंक नै छ। लिगको अन्तिम खेलसम्म पनि अंक बराबरी भए रियलले स्पेनिस ला लिगा फुटबलको उपाधि जित्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।