प्रतीकात्मक तस्बिर काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र पर्ने जग्गाको मूल्य हेरफेर गरेको छ। आगामी आर्थिक वर्षको बजेट तथा विनियोजन विधेयक २०७७ सार्वजनिक गर्दै महानगरले सम्पत्ति कर प्रयोजनका लागि जग्गाको प्रतिआनाका दरले मूल्य तोकेको हो।
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका प्रमुख सडक तथा सडकको दायाँबायाँका जग्गाको सम्पत्ति कर मूल्यांकनका लागि तोकिएको जग्गाको मूल्यअनुसार सबैभन्दा महंगो जग्गाको प्रतिआना मूल्य ५० लाख रुपैयाँ तोकिएको छ।
केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपार्टी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालयपूर्व सूरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पुर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटोसँग जोडिएका, महेन्द्रसालिकदेखि काठमाडौं प्लाजासम्म मूलसडकसंग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ५० लाख छ।
त्यस्तै माइतीघर, सिहदरबार पश्चिमगेट, पूतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मूलसडकसंग जोडिएका दायाँबायाँका जग्गाहरुको मुल्य पनि प्रतिआना ५० लाख रुपैयाँ छ।
जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वरसम्मको मूलसडकसंग जोडिएका दायांवायांका जग्गाहरु, रत्नपार्क, पुरानो बसपार्क, शहीदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरु पनि सबैभन्दा महंगो देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।