एजेन्सी- न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्नले सैन्य नेताहरूलाई सिमानामा खटाइएको बताएकी छन्। देशको सीमा क्षेत्रमा रहेका क्वारेन्टाइनहरूमा मापदण्ड पुरा भएको वा नभएको र बाहिरबाट आउनेहरूको निगरानी गर्नका लागि उनीहरूलाई खटाइएको हो।
लन्डनबाट आएका दुई महिलालाई क्वारेन्टाइन छोड्नुअघि भाइरसको परीक्षण गर्दा स्वास्थ्यकर्मीहरूले त्रुटी गरेपछि उनले सैन्य उच्च अधिकारीहरूलाई पठाउनु परेको उल्लेख गरेकी छन्। ती महिलाहरू न्युजिल्याण्डकै नागरिक हुन्। आफ्ना आमाबुवाको निधनका कारण उनीहरूले यात्रा गर्नु परेको जनाइएको छ।
न्युजिल्याण्डकै अक्ल्याण्डदेखि वेलिङ्टनसम्म कारमा यात्रा गरेपछि परीक्षण गर्दा उनीहरूमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो। स्वास्थ्य अधिकारीहरूले त्यो सडक यात्राका क्रममा ती महिलाहरू कुनै पनि अन्य व्यक्तिसँग सम्पर्कमा नरहेको दाबी गरेका थिए।
तर उनीहरूले विमान यात्रादेखि क्वारेन्टाइनको रुपमा सञ्चालन गरिएको होटलमा बस्दासम्मको अवधिमा ३ सय २० जनासँग भने सम्पर्कमा रहेको पाइएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ। यी दुई जनामा संक्रमण देखिनुअघि न्युजिल्याण्डमा पछिल्लो तीन हप्तासम्म कुनै संक्रमित नभेटिएको घोषणा गरिएको थियो।
कम्तिमा दुई हप्तासम्म कुनै पनि संक्रमित नभेटिएमा कोरोना भाइरसमुक्त मान्ने मान्यताअनुसार न्युजिल्याण्डलाई कोरोनामुक्त मुलुकको रुपमा घोषणा पनि गरिएको थियो। नयाँ संक्रमण भेटिएसँगै प्रधानमन्त्री अर्डेर्नले सिमा क्षेत्रमा थप सतर्कता बढाउनु पर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।