एजेन्सी- जर्मनीमा अमेरिकी सैनिकको आवश्यकता बर्लिनलाई नभई अमेरिका र यूरोपेली संघको सुरक्षाका लागि बढी महत्वपूर्ण रहेको जर्मनीका विदेशमन्त्री हेइको मासले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा रहेका अमेरिकी सैनिकको सङ्ख्यामा कटौती गर्ने घोषणा गरेसँगै जर्मनीको यो धारणा आएको हो।
हामीलाई लाग्छ जर्मनीमा अमेरिकी उपस्थितिको महत्व जर्मनीलाई मात्र नभई अमेरिका तथा खासगरी यूरोपेली संघको सुरक्षाका लागि महत्वपूर्ण रहेको छ, विदेशमन्त्री मासले आफ्नो पोल्याण्ड भ्रमणका क्रममा मङ्गलबार बताए।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले जर्मनीले नेटोको योगदानमा ‘इमान्दारिता’ नदेखाएको र अमेरिकासँगको व्यापारमा ‘गलत अभ्यास’ गरेको भन्दै जर्मनीमा रहेको अमेरिकी सैनिक सङ्ख्यामा कटौती गर्ने घोषणा गरेका थिए।
जर्मनीमा ५२ हजार अमेरिकी सैनिक रहेको र यसलाई कटौति गरी २५ हजारमा सिमित गरिन लागेको ट्रम्पले बताएका थिए।
तर पेन्टागनका अनुसार ३४ हजारदेखि ३५ हजार अमेरिकी सैनिक जर्मनीमा स्थायीरूपमा रहेका र आउने जाने क्रममा अस्थायीरूपमा बसोबास गर्ने सैनिकको समग्र सङ्ख्या ५० हजारभन्दा बढी भएको जनाएको छ।
यसैबीच नेटो प्रमुख जेन्स स्टलटेनवर्गले मङ्गलबार भनेका छन्, ‘यूरोपमा रहेका अमेरिकी सैनिकले एटलान्टिकमा दुवै पक्षलाई सुरक्षित बनाएको धारणा राख्नुभएको छ।’
यूरोपेली सुरक्षामा अमेरिकी भूमिकासम्बन्धी ट्रम्पका पछिल्ला धारणालाई सहयोगी राष्ट्रहरूका लागि अमेरिकाको कमजोर प्रतिबद्धता भन्दै आलोचना भएको छ। अमेरिकाले द्वित्तीय विश्व युद्धपछि शीत युद्धको उत्कर्षसम्ममा अमेरिकी दशौं हजार अमेरिकी सैनिकलाई यूरोपमा तैनाथ गर्दै आएको छ।
यसैबीच अमेरिकी सैनिकको सङ्ख्या बढाउने पोल्याण्डको योजनाबारे प्रधानमन्त्री मातेउज मोराविकीले सोमबार जर्मनीलाई आश्वस्त पारेका थिए।
पोल्याण्डमा अमेरिकी सैनिकको सङ्ख्या बढाउने विषयलाई जर्मनीले असहज रूपमा लिएपछि पोल्याण्डको सरकारको तर्फबाट जर्मनीको विश्वास लिने प्रयास भएको थियो।
सोमबारको एक अन्तवार्तामा मोराविकीले भने, ‘अमेरिकाले जर्मनीमा आफ्नो सैनिकको उपस्थितिलाई घटाउने योजना वाल स्ट्रिट जोर्नलमा प्रकाशित समाचारमा आएको केही दिनपछि पोल्याण्डमा अमेरिकी सैनिकको केही सङ्ख्यालाई बढाउने योजना अघि सारिएको हो।’
‘हाम्रो चाहना अमेरिकी सेनाको जर्मनीमा हुने खर्चमा कटौति गर्ने होइन,’ प्रधानमन्त्री मोराविकीले बाल्टिक न्यूज सर्भिस (बीएनएस)सँगको अन्तवार्तामा भने। जर्मन विदेशमन्त्री हेको मासको मङ्गलबार हुने वार्सा भ्रमणको पूर्वसन्ध्यामा पोलिस प्रधानमन्त्रीको यो भनाइ आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।