काठमाडौं- डा बाबुराम भट्टराई जनता समाजवादी पार्टीको पहिलो वरियतामा रहने सहमति उल्टिएको छ। जसपा नेता केशव झाका अनुसार पूर्व राजपा पक्ष पहिलो वरियतामा डा भट्टराईलाई मान्न तयार नभएपछि सहमति उल्टिएको हो। वरियतामा विवाद भएपछि पार्टी दर्ताको अन्तिम समयमा तेस्रो क्रममा रहेको उनको नाममा टिपेक्स लगाएर बुझाइएको छ।
अब महन्थ ठाकुर पहिलो वरियतामा हुने भएका छन्। यससँगै अर्का अध्यक्षमा उपेन्द्र महतो हुने भएका छन्। यसअघिको तीन जना अध्यक्ष हुने सहमति पनि अब तोडिएको छ। अब डा बाबुराम भट्टराई तेस्रो वरीयतामा पुग्ने भएका छन्।
डा भट्टराई, अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता हुने सहमति भएको समेत नेता झाले बताए। पार्टीमा केन्द्रीय कार्यकारी समिति वा निर्देशन समिति ५३ जना रहने र केन्द्रीय सदस्य ७०१ सम्म बनाउने र संघीय परिषद सदस्य १००१ सम्म बनाउने सहमति भइसकेको छ।
अहिले जसपा नेताहरू दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। दर्ताको प्रक्रियामा रहेको र आजै दल दर्ताको काम सकिने नेता झाले उल्लेख गरे। नयाँ दल दर्ता भएपछि मात्रै जसपाले आधिकारिक रुपमा नयाँ दलको मान्यता पाउनेछ।
निर्वाचन आयोगले पनि भरसक आजै दल दर्ताको काम सम्पन्न गर्ने तयारीमा रहेको जनाएको छ। ‘जसपाका नेताहरुले हामीलाई निर्वाचन आयोगमा दल गर्न ४ देखि ५ बजे समय माग्नु भएको थियो।,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘हामी सम्पूर्ण तयारीका साथ दर्ताका लागि तयारीमा बसेका थियौं। उहाँहरू आउन केही समय ढिलो भयो।’
गत बैसाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले राति साढे ११ बजे एकता गरेका थिए। लगत्तै भोलिपल्ट बिहान १० बजे निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।
सरकारले दल विभाजन सम्बन्धी प्रावधानलाई खुकुलो पार्नेगरी अध्यादेश ल्याएपछि यी दुई पार्टीले हतारहतार एकीकरण गरेका थिए। तर, नेतृत्वको विषयमा सहमति हुन नसकेपछि आयोगमा दर्ता गर्न ढिलाइ भइरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।