काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) आइतबार नै निर्वाचन आयोगमा दर्ता हुने भएको छ। जसपाको नेतृत्व व्यवस्थापन भएपछि आइतबार नै शीर्ष नेताहरु निर्वाचन आयोगमा दर्ता गर्न नेताहरु जाने भएका हुन्।
जसपा निर्वाचन आयोगमा दर्ता भएपछि आधिकारिक रुपमा नयाँ दलको मान्यता पाउने भएको हो। ‘जसपाका नेताहरुले हामीलाई निर्वाचन आयोगमा दल गर्न ४ देखि ५ बजे समय चाहिन्छ भन्नुभएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘हामी सम्पूर्ण तयारीका साथ दर्ताका लागि तयारीमा बसेका छौ । उहाँहरु सबै प्रक्रिया पुरागरी आउँनु भयो भने आजै नयाँ दलको रुपमा जसपा दर्ता हुने छ।’
गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले राति साढे ११ बजे एकता गरेका थिए। लगतै भोलिपल्ट विहान १० बजे निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।
सरकारले दल विभाजन सम्बन्धी प्रावधानलाई खुकुलो पार्नेगरी अध्यादेश ल्याएपछि यी दुई पार्टीले हतारहतार एकीकरण गरेका थिए। तर, नेतृत्वको विषयमा सहमति हुन नसकेपछि आयोगमा दर्ता गर्न ढिलाइ भइरहेको थियो।
जसपाको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको बुझिएको छ। यस्तै वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई हुनेछन्।
नेतृत्वमा व्यवस्थापन हुन नसकेका नेताहरुलाई ९ देखि ११ जनाको निर्देशक समिति बनाउने तयारी गरिएको छ। केन्द्रीय कार्यकारी समिति ५१ देखि ६१ जनाको बनाउने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।