काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)को पदीय भागबन्डा सहमति नजिक पुगेको छ। लामो समयदेखि जसपाका शीर्ष नेताहरूबीच छलफलपछि नेतृत्वको भागबन्डा नजिक पुगेका हो। गत बैसाख १० गते तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)बीच एकता भएपनि पदीय भागबन्डा नमिल्दा दल दर्ता हुन छैन।
जसपाको संघीय परिषदको अध्यक्षमा बाबुराम भट्टराई,केन्द्रीय समिति, अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव वरिष्ठ नेतामा राजेन्द्र महतो र अशोक राईलाई बनाउने विषयमा सहमति नजिक भएको एक नेताले बताए।
‘नेतृत्वको व्यवस्थापनलाई लिएर विभिन्न मोडलमा छलफल भयो। धेरै मोडलमध्ये संघीय परिषद् अध्यक्ष भट्टराई, केन्द्रीय समिति अध्यक्षमा ठाकुर यादव, वरिष्ठ नेतामा महतो र राईलाई बनाउने विषयमा सहमति नजिक छौँ,’ ती नेताले भने, ‘शीर्ष नेताबीच सहमति भईसकेकाले अन्तिम रुप दिन बाँकी छ।’
व्यवस्थापन बाँकी नेताहरुलाई ९ देखि ११ जनाको निर्देशक समिति बनाउने तयारी गरिएको छ। केन्द्रीय कार्यकारी समिति ५१ देखि ६१ जनाको बनाउने तयारी छ। हाल जसपाबाट प्रतिनिधिसभामा ३३ जना सांसद छन्। प्रदेश नम्बर २ मा पनि जसपा नेतृत्वकै सरकार छ।
निर्वाचन आयोगमा दर्ता कहिले?
जसपा नेताहरुले सहमतिलाई अन्तिम रुप दिए आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेका छन्। ‘हामीले दल दर्ताका लागि छलफल गरी रहेका छौँ। नेतृत्वको व्यवस्थापनलाई अन्तिम रुप दिँदैछौँ। सहमतिलाई अन्तिम रुप दिन पार्टी कार्यालयमा बैठक बस्छौँ,’ जसपाका नेता गंगानारायण श्रेष्ठले भने, ‘सकेसम्म आजै ५ बजे निर्वाचन आयोगमा दल दर्ता गर्छौँ। आज नभए भोलि बिहान दर्ता गर्छौँ।’
पार्टी फुट्ने हल्ला चलेपछि गत बैसाख १० गते समाजवादी पार्टी र राजपाबीच राती साढे ११ बजे एकताको समहति भएको थियो। नेतृत्वको व्यवस्थापन नगरी हतारमा एकता गरेकाले लामो समय निर्वाचन आयोगमा दल दर्ता हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।