एउटा आपराधिक घटना ‘मिस्लिड’ गरियो भने त्यसले पीडित पक्षलाई कतिसम्मको पीडा थप्छ भन्ने उदाहरणका लागि कञ्चनपुरको ‘निर्मला प्रकरण’ काफी छ। १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या भएको अब साउनमा दुई वर्ष पुग्छ। तर, अपराधीलाई कानुनी कठाघरामा उभ्याउने कुरा त परै जाओस् अपराधीको औपचारिक पहिचानसमेत भएको छैन। परस्पर विरोधी प्रकृतिका अनुसन्धान र सतहमा ल्याइएका अनेकथरी ‘हल्ला’ले अपराधलाई एउटा जटिल मोडमा ल्याएर थन्काएको यथार्थ छ।
दोषी पहिचान हुन नसक्दा र कपोलकल्पित हल्लाहरूका कारण निर्मलाकी आमाका आँसु अहिलेसम्म रोकिएका छैनन्। यही कारण निर्मलाको परिवारले निरन्तर दुःख पाइरहेको छ। पीडा भोगिरहेको छ। र, दोषी आफ्नो दुनियाँमा स्वतन्त्रतापूर्वक रमाइरहेको छ। यो दृश्यले देशको कानुनको धज्जी उडाएको मात्र होइन, कानुनी राजमा रहेका हामी सबैको शिर निहुर्याएको छ।
अपराधलाई विषयान्तर गर्दा कसरी दोषी उम्किरहेको हुन्छ भन्ने एउटा घटनालाई साक्षी राख्दै गएको शनिबार रुकुम पश्चिमको चौरजहारीमा भएको अर्को अमानवीय घटनाबारे चर्चा वाञ्छनीय छ। आधुनिक र सभ्य भनिएको समाजमा रुकुम चौरजहारीमा जे भयो, त्यसले फेरि एकपटक हाम्रो शिर झुकाएको छ। हाम्रो सामाजिक संरचना र त्यसले निर्माण गरेको सोच (माइन्ड सेट) माथि प्रश्न उठाएको छ।
यो घटनालाई लिएर मौजुदा कानुन र वस्तुपरक अनुसन्धानभन्दा पर रहेर जे जस्ता मनोगत तर्क–वितर्क भइरहेका छन्, त्यसले समाजमा रहेको जातीय उत्पीडन र भेदभावको प्रकटीकरण गरिरहेको छ। त्यति मात्र होइन, घटनाका विषयमा कतिपय राजनीतिक दलका प्रतिनिधिबाटै जे जस्ता जनमत तयार गरिँदैछन्, त्यसले यो अपराधको घटनालाई पनि कतै ‘मिस्लिड’ गरिने त होइन भन्ने गम्भीर आशंका पैदा भएको छ।
रुकुमको चौरजहारीमा भएको के थियो? एकपटक घटनाको एकसरो विवरण बुझौं।
त्यो दिन (शनिबार) जाजरकोटको भेरी-४, रानागाउँका २० वर्षीय नवराज विक आफूसहित १८ जना साथीहरू लिएर आफ्नी प्रेमिकालाई लिन रुकुम पश्चिमको चौरजहारी-८, सोती पुगेका थिए। प्रेम सम्बन्धमा रहेका नवराजले कथित उच्च जातकी भनिएको परिवारकी युवतीलाई लिन उनको घरको पुग्दा युवतीको परिवारले नवराज र उनका साथीहरूलाई सुनियोजित तरिकाले निर्मम आक्रमण गरे। घटनामा प्रेमी नवराज विकको मात्र होइन, उनीसँगै गएका टीकाराम सुनार, गणेश बुढामगर र लोकेन्द्र सुनारको पनि हत्या भयो। अरू दुई जना सन्दीप विक र गोविन्द शाही हराइरहेका छन्। नवराजसँगै युवतीको घर सोती पुगेका र घटनामा बाँचेका अरु व्यक्तिहरूका अनुसार युवतीका परिवारका सदस्य र गाउँलेहरूसहित झन्डै पाँच दर्जन व्यक्तिले नवराजको समूहलाई लखेट्दै, लघार्दै, जातीय गाली गर्दै अन्धाधुन्ध आक्रमण गरेका थिए।
चार जनाको ज्यान गइसकेको र दुई जना बेपत्ता रहेको यो आपराधिक घटनाको पृष्ठभूमि र नवराज विकको प्रेम सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा मनोगत तर्कका ‘ट्रोलिङ’हरू व्याप्त छन्, जसले घटनालाई हेर्ने दृष्टिकोण र भइरहेको अनुसन्धान प्रभावित पार्ने खतरा देखिन्छ। ‘नवराजले फिल्मी शैलीमा युवती अपहरण गर्न किन गए त्यसैले..?’, ‘बिहेका लागि उमेर नपुगेकी १७ वर्षीया युवतीलाई लिन आउनेलाई के फूलमालाले स्वागत गर्न पर्ने?’ र ‘घटनामा दलित भएकैले सहानुभूति दिनुपर्ने?’ भन्ने जस्ता प्रश्नहरूको लहर तयार गरेर नरसंहारलाई धमिलो बनाउने जुन प्रयत्न भइरहेको छ, त्यो गलत भइरहेको छ।
जसले जे तर्क गरे पनि यो घटना प्रेममा रहेका युवा–युवतीको सम्बन्धमा उभिएको जातीय भेदभाव र त्यसको दुखान्त नै यसको कटु–यथार्थ हो। उमेर नपुगेको जोडीलाई बिहे गर्ने बेला भएको छैन भन्ने सम्झाउने दायित्व अभिभावकसँग पनि जोडिन्छ। तर आफ्नी छोरीसँग बिहे गर्न चाहेकै भरमा कसैको निर्मम हत्या गर्ने तानाबाना बुन्नु कस्तो मनस्थितिको उपज हो? यो विषय जातीय विभेद र आपराधिक सोचसँग अन्तर्निहित छ कि छैन? ल, हुल बाँधेर कोही आफ्नी छोरीचेली लिन आयो रे, त्यसको उपचार हत्या हो कि अरु कानुनी बाटो पनि छ? यी प्रश्नहरूको जवाफ खोज्दै जाने हो भने यो घटनाको चुरोमा पुग्न सकिन्छ।
कसैले उमेर नपुगी बिहे गरेमा, त्यसलाई कानुन बमोजिम दण्डित गर्ने बाटो छँदै थियो। कसैले हुलहुज्जत गरेमा पनि कानुन आकर्षित हुन्थ्यो होला। सोही कसुर तह बमोजिम दण्ड-जरिवाना तय हुन्थ्यो होला। तर, यहाँ त मान्छेहरूको ज्यानै जाने तहको अकल्पनीय घटना हामी सामु छ।
घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। समितिले पनि आफ्नो अनुसन्धान गर्दै गर्ला। र, अहिले स्थानीय तहमा प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ। जाहेरी किटानीका आधारमा वडाअध्यक्षसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। अरु केही व्यक्तिहरूलाई पनि प्रहरीले खोजिरहेको छ। खबरहरू यतिसम्म आएका छन् कि, घटनाको छानबिन गरिरहेको प्रहरीलाई समेत प्रभावित पार्न शक्तिशाली व्यक्तिहरूले चलखेल गरेका छन्। यति निर्मम घटनामा यस्ता खबरहरू सुनिनु अत्यन्त्यै अशोभनीय र लज्जाको विषय हो।
जातीय छुवाछुतलाई अपराध मान्ने कानुन हामीले बनाएका छौं। स्वीकारेका छौं। छुवाछुत अन्त्य घोषणा गरिएको पनि पचास वर्षभन्दा बढी भइसक्यो। जातीय भेदभाव अन्त्यका लागि हाम्रा सरकारी संयन्त्र, राजनीतिक दल, सामाजिक संघसंस्थाहरू र समाजका अरु इकाइहरूले जनचेतना फैलाउन थालेको पनि वर्षौं वर्ष भइसक्यो। समाज परिवर्तनका लागि भएका सबै पहलहरूमा यो विषयले कहीँ न कतै ठाउँ पाएकै थियो, पाइरहेकै छ। तर हाम्रो अवस्था अझै पनि एउटा दलित युवाको प्रेम सम्बन्धलाई नरसंहारमा पुर्याउने र त्यसमाथि ‘विभेदकारी’ भाष्य निर्माण गर्ने नै देखियो। यो साह्रै अमानवीय मात्र होइन, गैरकानुनी पनि छ। त्यसैले यो निन्दनीय घटनामा अरु कसैको कुरा नसुनी कानुनले देखाएको बाटो तय हुनुपर्छ। घटनाको अनुसन्धानलाई प्रभावित तुल्याउने तत्वहरूलाई बेलैमा पहिचान गरिनुपर्छ। र, यसलाई अर्को ‘निर्मला प्रकरण’ हुनबाट जोगाइनुपर्छ।
रुकुमको चौरजहारी नरसंहारमा निर्मला प्रकरणमा जसरी हामी कसैको शिर नझुकोस्। भन्न पाइयोस्, दोषीले सजाय पायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।