काठमाडौं- उपत्यकामा लकडाउन कार्यान्वयन गराउन परिचालित हुने प्रहरीको संख्या कम गराउने तयारी भएको छ। महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले प्रहरी परिचालनको संख्या घटाउन लागिएको बताए।
उनका अनुसार पछिल्लो समय उपत्यकामा लकडाउन स्वतस्फुर्त रुपमा कार्यान्वयन हुन थालेपछि प्रहरीको परिचालनको संख्या घटाउन लागिएको हो।
अहिले दैनिक उपत्काका तीन जिल्लामा गरेर ६ हजार प्रहरी परिचालन हुँदै आएका छन्। स्रोतका अनुसार कोरोनाको संक्रमण बढ्दै जानु र सुरक्षाकर्मीलाई नै जोखिम बढ्न थालेपछि प्रहरी परिचालनको संख्या कम गर्न लागिएको हो। परिचालनको संख्या घटाएर कति बनाउने भन्नेबारे गृहकार्य भइरहेको प्रहरी कार्यालयले जनाएको छ।
‘कोरोना नियन्त्रणदेखि संक्रमितको उपचार र रेस्क्युमा खटिने सुरक्षाकर्मी नै संक्रमित भएपछि भोलि कस्ले रेस्क्यु गर्ने?’ स्रोतले भन्यो, ‘धमाधम सुरक्षाकर्मी अहिले नै संक्रमित देखिन थालेपछि यसको संख्या कम गर्न लागिएको हो।’
यसैगरी प्रहरी प्रधान कार्यालयले पनि आवश्यकताअनुसार अन्य जिल्लामा पनि कम सुरक्षाकर्मी परिचालन गर्ने रणनीति तयार गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।