काठमाडौं- इंग्ल्याण्ड क्रिकेट टिमका खेलाडीहरुले आउँदो हप्तादेखि खेल अभ्यास गर्ने भएका छन्। खेलाडीहरुबीच शारीरिक दुरी बनाएर व्यक्तिगत रुपमा गरिने अभ्यासमा सुरक्षाका सबै उपाय अपनाइने बताइएको छ।
कोरोना भाइरस (कोभिड १९) को संकट कम हुँदै जाँदा वेस्ट इन्डिजसँग तय भएको टेस्ट सिरिज नै इंग्ल्याण्डको पहिलो खेल हुनेछ। त्यसका लागि ३० खेलाडी टेस्ट बलले नै अभ्यासमा सामेल हुनेछन्।
तर क्रिकेट वेस्ट इन्डिजका प्रमुख कार्यकारी जोन्नी ग्रेभले खेलाडीहरु तीन खेलको टेस्ट श्रृखंलाका लागि इंग्ल्याण्ड जाने कुरामा चिन्तित रहेको बताएका छन्।
जुन ४ मा सुरु हुने भनिएको टेस्ट खेल कोरोना भाइरस (कोभिड १९) कारण कम्तिमा जुलाईसम्म स्थगित रहेको छ। तर त्यसपछि पनि खेलाडीहरु तुरुन्तै इंग्ल्याण्ड भ्रमण गर्न चिन्तित रहेको बताइएको हो।
दुवै देशका क्रिकेट बोर्डबीच सुरक्षित रुपमा खेलाडीहरुलाई राखेर खेल गराउने बारे कुराकानी भइरहेको छ। तर त्यसरी इंग्ल्याण्ड जानका लागि पनि खेलाडीहरु राजी हुनेमा शंका रहेको क्रिकेट वेस्ट इन्डिजका प्रमुख कार्यकारी ग्रेभले बताएका हुन्।
‘खेलाडीहरु इंग्ल्याण्ड जस्तो घना जनसंख्या रहेको देशमा छिटै खेल्न राजी हुनेछन् भन्नेमा शंका छ। तर यदि तयारी राम्रो हुने हो र सुरक्षित छ भन्ने यकिन हुन सकेमा खेलाडी खेल्न राजी नै हुँदैनन् भन्ने होइन’ उनले भनेका छन्।
वेस्ट इन्डिजको इंग्ल्याण्ड भ्रमण मात्रै होइन त्यसलगत्तै पाकिस्तान, अस्ट्रेलिया र आयरल्याण्डसँग पनि खेल तय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।