काठमाडौं- १६ खर्बभन्दा बढी लगानी रहेको नेपालको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा कोभिड-१९ को प्रभाव सबैभन्दा बढी परेको छ।
कोभिड-१९ का कारण हवाई र पर्यटन क्षेत्रसँग जोडिने सबै गतिविधि पूर्ण रुपमा बन्द छन्। तारे होटलेदेखि स-साना पर्यटकीय होटल, पत्रयात्रा, जलयात्रा र हिमाल आरोहण सबै बन्द छन्।
यसैगरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पनि बन्द छन्। तर उद्धार तथा अत्यावश्यक सामान आयातका केही कार्गो उडान भने भइरहेका छन्।
नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको उल्लेखनीय स्थान रहेको छ। आर्थिक वर्ष २०७४/७५ मा नेपालमा पर्यटन क्षेत्रबाट रु६७ अर्ब ९ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको थियो। यस क्षेत्रको आय नेपालबाट हुने कूल वस्तु निर्यातबाट प्राप्त हुने विदेशी मुद्राको अनुपातमा करिब ७२ प्रतिशत रहेको छ भने नेपालको वार्षिक कूल गार्हस्थ उत्पादनमा यस क्षेत्रले करिब ३ प्रतिशतको योगदान दिएको छ।
उद्योग विभागको तथ्याङ्क अनुसार नेपालको पर्यटन क्षेत्रमा आर्थिक वर्ष २०७६/०७७ सम्म १५ खर्ब ९५ अर्ब लगानी भएको भएको छ। पर्यटन क्षेत्रबाट करिब ७ लाख २० हजार रोजगारी सिर्जना भएको अनुमान छ। जसमध्ये होटलमा करिब २ लाख, पदयात्रातर्फ करिब १ लाख ५० हजार र बाँकी पर्यटन सम्बद्ध अन्य क्षेत्रमा कार्यरत रहेको अनुमान छ।
हालै पर्यटन क्षेत्रसँग सम्बन्धित ट्रेड युनियनसँग भएको सम्झौता अनुसार श्रमिकले सेवा अवधिको अन्त्यसम्ममा सञ्चित गर्न पाउने ९० दिनबाट कट्टा हुनेगरी १ महिनासम्मको तलबी छुट्टी आलोपालो मिलाइदिने निर्णय भइसकेको छ। साथै होटल संघ नेपालले त सबै होटल ६ महिना बन्द गर्ने र कर्मचारीलाई १२ दशमलब ५ प्रतिशत मात्रै तलब दिने निर्णय गरिसकेको छ।
सन् २०१९ मा करिब १२ लाख पर्यटक नेपाल आएका थिए। सन् २०१९ को जनवरी, फेब्रुअरी र मार्चमा क्रमशः ८१ हजार २ सय ७३, ९८ हजार २ सय ७ र १ लाख २७ हजार पर्यटक नेपाल आएका थिए।
तर, कोरोनाको सन्त्राससँगै सन् २०२० को जनवरी, फेब्रुअरी र मार्च महिनाको १४ तारिकसम्मम क्रमशः ७९ हजार ३ सय ५५, ९८ हजार २ सय ०७ र २४ हजार १ सय ५० पर्यटकको नेपाल आगमन भएको छ।
कोरोनाको प्रभावका कारण २२ मार्च २०२० पछि अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाइएकोले त्यसपछि विदेशी पर्यटक आगमनको संख्या शून्यमा झरेको छ। उक्त प्रतिबन्ध कहिलेबाट खुल्ने निश्चित छैन। आन्तरिक तथा बाह्य उडानमा प्रतिबन्ध लागेको अवस्था कायमै छ।
अन्तर्राष्ट्रिय स्तरमा जुन २०२० अघि उडान चालू हुने अवस्था समेत नरहेको नेपाल नागरिक उड्डन प्राधिकरणको भनाइ छ।
नेपालको अर्थतन्त्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान रहेको पर्यटन क्षेत्रको दीर्घकालीन विकासको लागि कम्तीमा २० लाख पर्यटक वार्षिक रूपमा भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष २०२० को अभियान प्राथमिकताका साथ सुरुवात भएको थियो।
यस्तो अवस्थामा अकस्मात जनवरीदेखि चीनको वुहानमा देखिएको कोरोना भाइरसले विश्व महामारीको रूप लिएपछि यस क्षेत्रमा अत्यन्त नकारात्मक असर परेको पर्यटन क्षेत्रका व्यवसायीहरु बताउँछन्।
पर्यटन क्षेत्रमा परेको नकारात्मक असर र त्यसको न्यूनीकरणका लागि वायुसेवा संघ, पर्यटन व्यवसायी र सम्बद्ध छाता संगठनहरूले विभिन्न समयमा राहत र पुनस्र्थापनाका मागहरू सरकारलाई बुझाइसकेका छन्।
व्यवसायीहरुको मागलाई नै अध्ययन गर्दै रातहको प्याकेज समेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरिसकेको छ।
होटलको अवस्था
नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको एक प्रमुख स्थान रहेको छ। हालसम्म नेपालमा तारेस्तरका १३८ र पर्यटकस्तरका १ हजार १५१ गरी जम्मा १ हजार २ सय ८९ होटल रहेका छन्। उक्त होटलहरुमा रहेको बेड संख्या जम्मा ४४ हजारभन्दा बढी छ।
नेपाल होटल संघबाट प्राप्त तथ्यांक अनुसार नेपालमा यस व्यवसायमा करिब १४ खर्ब ३० अर्ब लगानी रहेका छ। होटल व्यवसायमा विभिन्न वाणिज्य बैंकहरुको ऋण लगानी १३ अर्ब ८७ करोड, होटलले तिर्ने मासिक ब्याज ५४ करोड ४४ लाख रहेको छ।
यस व्यवसायमा कार्यरत मजदूरको मासिक रुपमा तलब सुविधा वापत ८५ करोड २२ लाख खर्च हुने गरेको तथ्यांक छ। नेपालमा घरबहालमा लिई सञ्चालित भएका होटलहरूले मासिक रूपमा १९ करोड ५७ लाख घरभाडा तिर्ने गरेका छन्।
नेपालका होटलहरूको सन् २०१९ मा अकुपेन्सी ७५ प्रतिशत (पहिलो ८ महिनामा ७२ प्रतिशत, पछिल्लो ४ महिनामा ८० प्रतिशत) रहेको थियो। यस्तो अकुपेन्सी सन् २०१९ को जनवरीमा ५८ प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्चमा ८२ प्रतिशत थियो। सन् २०२० को अवस्था हेर्दा जनवरीमा ५० प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्च १५ सम्म २० प्रतिशत मात्र रहेको थियो।
पर्वतारोहण तथा पदयात्राको अवस्था
आर्थिक ०७५/०७६ मा पर्यटन विभागबाट पर्वतारोहणबाट ५५ करोड ५५ लाख राजस्व संकलन भएको थियो। यसमा पहिलो ८ महिनामा १० करोड ७५ लाख र पछिल्लो ४ महिनामा ४४ करोड ८० लाख रहेको थियो। चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ७ करोड १६ लाख राजस्व असुली भएको छ भने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको फागुन २९ को निर्णयबाट यस अवधिको पर्वतारोहण अनुमति जारी नगर्ने निर्णय भइसकेको छ।
आर्थिक वर्ष ०७५/७६ मा नेपाल पर्यटन बोर्डमार्फत टिम्स कार्डबाट पदयात्रा वापत १९ करोड ७१ लाख संकलन भएको थियो। यसमा पहिलो ८ महिनामा १० करोड ६० लाख र पछिल्लो ४ महिनामा ७ करोड ११ लाख रहेको थियो। चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो ८ महिनामा ९ करोड ६६ लाख असुली भएको छ भने फागुन ७ देखि पदयात्रा अनुमतिसमेत जारी गरिएको छैन।
नेपाल पर्यटन बोर्डबाट संकलन गरिएको तथ्यांक अनुसार नेपालको पर्वतारोहण तथा पदयात्रामा करिब ९० हजार मजदूर कार्यरत रहेका छन्।
पर्यटक यातायातको अवस्था
पर्यटक यातायाततर्फ करिब १ अर्ब ५७ करोड लगानी रहेको, बैंक ऋण ७१ करोड रहेको तथा करिब २ करोड ४ लाख मासिक किस्ता रहेको छ। यसैगरी र्याफ्टिङतर्फ करिब १० करोड ९६ लाख लगानी रहेको, बैंक ऋण ३ करोड २६ लाख रहेको र करिब ४ लाख २९ हजार मासिक किस्ता रहेको छ।
पर्यटनका अन्य क्षेत्रको अवस्था
नेपाल पर्यटन बोर्डबाट संकलन गरिएको तथ्यांक अनुसार ट्राभल र टुर व्यवसायमा करिब पचास करोड लगानी रहेको छ। यस क्षेत्रमा करिब ४८ करोड ५० लाख रुपैयाँ बैंकहरुको लगानी रहेको छ भने मासिक करिब १ करोड ऋण भुक्तानीको मासिक किस्ता रहेको छ।
नागरिक उड्डयन क्षेत्रको अवस्था
विश्वव्यापी महामारीको रुपमा देखिएको कोभिड-१९ को कारणबाट नेपालको नागरिक उड्डयन क्षेत्र सबैभन्दा प्रभावित देखिएको छ। नेपालको नागरिक उड्डयन क्षेत्रको आन्तरिकतर्फ करिब १६ प्रतिशत र अन्तर्राष्ट्रियतर्फ ५ प्रतिशत औसत यात्रु वृद्धिदर रहेको छ। सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानतर्फ करिब ४१ लाख ३८ हजार ४ सय ८२ संख्याले आवतजावत गरेका थिए।
साथै आन्तरिकतर्फ सन् २०१९ मा ३१ लाख ८८ हजार ४ सय ८९ संख्यामा आवतजावत भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणको चालू आर्थिक वर्षमा करिब १२ अर्ब ६५ करोड आम्दानी गर्ने अनुमान गरेकोमा हालसम्मको अवस्थामा ४ अर्ब ३८ करोडले न्यून हुने भएको छ। प्रतिबन्धको अवधि बढ्दै गएमा प्राधिकरणको आयमा थप कमी आउने देखिन्छ।
नेपालको नागरिक उड्डयन क्षेत्रमा निजी क्षेत्रको मात्र करिब १ खर्ब लगानी रहेको छ। नेपालको आन्तरिक उड्डयन क्षेत्रमा मात्र मासिक करिब ४ अर्ब घाटा यस अवधिमा भइरहेको पूर्वानुमान रहेको छ। आन्तरिक उड्डयन गर्ने ९ वटा हवाई सेवा कम्पनी र ९ वटा हेलिकोप्टर सेवा कम्पनी रहेको एवं अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा हवाई सेवा कम्पनी रहेका छन्।
त्यस्तै नेपालका हवाई कम्पनीहरूका अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइडबडी (ए३३० स्तरका) र ६ वटा न्यारोबडी (ए३२० स्तरका) रहेका छन्। त्यसैगरी आन्तरिक उडानका लागि ५३ वटा फिक्स विङ ट्रंक रुटमा ३४ वटा टर्वो तथा जेट जहाज रहेका छन्। यसैगरी १९ वटा स्टोल र ३३ वटा हेलिकोप्टर रहेका छन्। कूल सिट क्षमता अन्तर्राष्ट्रियतर्फ १ हजार ४ सय ९६ र आन्तरिकतर्फ ७ सय ९७ रहेको अवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।